म्याग्दे गाउँपालिका, तनहुँको आयोजनामा आगामी फागुन १३ गतेदेखि दोस्रो अध्यक्ष कप २०८१ हुने भएको । आयोजक म्याग्दे गाउँपालिकाले पोखरामा बिहीबार पत्रकार सम्मेलन गरेर प्रतियोगीताबारे जानकारी गराएको हो।
‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागी खेलकुद’ भन्ने मूल नारासहित हुन लागेको अध्यक्ष कपमा गण्डकी प्रदेशभित्रका पालिका स्तरीय ११ ‘ए’ साइड पुरुष फुटबल प्रतियोगिता तनहुँ जिल्ला स्तरीय ‘सी’ लेभल ब्याडमिन्टन प्रतियोगिता र म्याग्दे गाउँपालिका वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता समावेश छन्।
म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको गण्डकी प्रदेशभित्रका पालिका स्तरीय फुटबल प्रतियोगिता म्याग्दे ५ छाङ्ग पाटनको खेल मैदानमा हुने जानकारी दिए।
उक्त प्रतियोगीताका विजेताले ३ लाख र उपविजेताले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने छन्। यस्तै, सेमिफाइनल पुग्ने २ टिमलाई १५ हजारका दरले पुरस्कार दिइने अध्यक्ष श्रेष्ठले जानकारी दिए।
उत्कृष्ट खेलाडीलाई १० हजार, सर्वाधिक गोलकर्ता, मिडफिल्डर, डिफेन्डर, गोलरक्षक र प्रशिक्षकलाई जनही ५ हजार रुपैयाँ पुरस्कार दिइने आयोजकले जनाएको छ।
सोही अवसरमा म्याग्दे गाउँपालिका–४ थर्पु ब्याडमिन्टन क्लबको कवर्डहलमा फागुन १६ र १७ गते हुने जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगितामा पहिलो हुनेले ५० हजार र दोस्रो हुनेले ३० हजार रुपैयाँ पुरस्कार पाउने छन्। सेमिफाइनलमा पुग्ने दुई टोलीलाई नगद रु १०/१० हजारका साथमा ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने छ।
म्याग्दे गाउँपालिका वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगितामा दुबैतर्फ विजेताले ८० हजार र उपविजेताले ५० हजार रुपैयाँ पाउने अध्यक्ष श्रेष्ठले जानकारी दिए।
गाउँपालिका वडा स्तरीय भलिबल प्रतियोगितामा म्याग्दे गाउँपालिका अन्तर्गतका ७ वडाका पुरुष तथा महिला भलिबल खेलाडीको सहभागिता रहने छ। पुरुष तथा महिला भलिबलमा उत्कृष्ट खेलाडी, उत्कृष्ट ब्लकर, उत्कृष्ट स्पाईकर, उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट लिवरो र उत्कृष्ट प्रशिक्षकलाई पालिकाको लोगो अंकित पोशाक प्रदान गरिने आयोजकले जनाएको छ।
तीन वटै विधाका प्रतियोगीताहरु २२ गतेसम्म सकाउने र २३ गते पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ। प्रतियोगिता सञ्चालनका लागि पालिकाले २० लाख रुपैयाँ विनियोजन गरेको छ।
प्रदेशभरिका खेलाडी सहभागी होउन् भन्ने उद्देश्यले प्रचारप्रसारमा समेत जोड दिइएको र प्रतियोगिताले स्थानीय र राष्ट्रिय स्तरका खेलाडी उत्पादन हुने विश्वास गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले जानकारी दिए।