बारा प्रहरीले ९ बिगाह खेतमा लगाएको अवैध गाँजा खेती फडानी तथा नष्ट गरेको छ। जिल्ला प्रहरी कार्यालय मातहत प्रहरी ईकाइ कार्यालयहरूबाट खटिएका प्रहरी टोलीले गाँजा खेती फडानी तथा नष्ट गरेको हो।  
इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटीएको प्रहरी टोलीले जीतपुर सिमरा उपमहानगरपालिका वडा नं.२२ को चकरी गाउँ र नयाँ बस्ती टोल क्षेत्रमा लगाएको ५ बिगाह गाँजा  फडानी गरेको प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले बताए। उनका अनुसार करिब १ लाख गाँजाका बोटहरू नष्ट गरिएको छ।
इलाका प्रहरी कार्यालय निजगढको प्रहरी टोलीले निजगढ नगरपालिका, वडा नं.१२ र वडा नं.१३ ४ बिगाह  खेतीमा लगाएको गाँजा फडानी गरेको उनले जानकारी दिए। सो क्षेत्रमा करिब ८० हजार गाँजाका बोटहरू नष्ट गरिएको प्रहरी नायव उपरीक्षक सापकोटाले बताए। जिल्ला प्रहरी कार्यालयबाट खटिएको मातहतको टोलीले माघ २४ गते बिहान साढे ९ बजेदेखि साँझ करिब ७ बजेसम्म अवैध गाँजा खेती फडानी तथा नष्ट गरेको हो। अवैध गाँजा एक लाख ८० हजार बोटहरू फडानी तथा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।