रामेछापको दोरम्बा सैलुङ गाउँपालिका–१ डडुवाका सीमान्तकृत अल्पसङ्ख्यक थामी समुदायले तिहारमा देउसी खेलेर उठाएको रकम विद्यालय सञ्चालनको लागि चन्दा दिएका छन्।
निको थामी सेवा समाज रामेछाप डडुवाले गएको तिहारमा देउसी खेलेर सङ्कलन गरेको रकम विद्यालय सञ्चालनको लागि सहयोग गरेको छ। डडुवाको सल्लेटार, दलेचौर पाखाटोल, नागी, मझुवा लगायतका क्षेत्रमा द्यौसी खेलेर सङ्कलन गरेको रकम विद्यालयमा एक कार्यक्रम आयोजना गरी थामी समुदायले मङ्गलवार स्थानीय सञ्जीवनी मावि पात्लेलाई हस्तान्तरण गरेका हुन्।
गएको तिहारमा देउसी खेलेर थामी समुदायले १ लाख ३९ हजार ७ सय ८० रुपैयाँ सङ्कलन गरेका थिए । सोही रकम वडाका जनप्रतिनिधिहरू समेतको रोहवरमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णुकुमार लामालाई हस्तान्तरण गरिएको वडा सदस्य समेत रहेका थामी समुदायका अगुवा मङ्गले थामीले जानकारी दिए।
सञ्जीवनी माविमा सरकारले दरबन्दी अनुसारको शिक्षक व्यवस्था गर्न सकेको छैन। त्यसैले विद्यालयले निजी श्रोतमा शिक्षक राखेर पठन पाठन गरिरहेको छ। विद्यालयसँग निजी श्रोतका शिक्षकलाई तलब खुवाउन रकम अभाव भएपछि देउसी खेलेर सङ्कलन गरेको रकम सहयोग गरेको थामीले बताए।
दुर्गमको यो थामी बस्ती यस वर्ष बाढी पहिरोको चपेटामा पर्यो। भदौ र असोज महिनामा परेको भीषण वर्षाको कारण गाउँ पहिरो गएर थिलथिलो भयो। धेरैका घर जोखिममा परे। बारीमा लगाएको बाली पहिरोले पुर्यो। गाउँ सङ्कटमा छ।
उनीहरूले विद्यालयलाई परेको सङ्कटको अगाडि आफूहरूलाई परेको सङ्कट गौण ठाने । त्यसैले देउसी खेलेको पैसा विद्यालयलाई सहयोग गरे।
‘आफ्नै बालबच्चा पढ्ने विद्यालय, शिक्षकलाई तलब खुवाउने पैसा नभएपछि सहयोग गर्यौ, अलि अगाडि नै दिने सोच थियो, बाढी पहिरोले क्षति भएको आफ्नै घर व्यवहार मिलाउन लागेकोले केही ढिलो भयो’, मङ्गलेले भने।