ललितपुरको महाङ्काल गाउँपालिका वडा नं ५ टुङ्गन खोलामाथि बनेको पुल उद्घाटन गरिएको छ। उक्त पुल उद्घाटन गर्दै सङ्घीय सांसद उदय शमशेर राणाले प्रदेश सरकारमा योजना पुगेपछि रोकिएको भन्दै नयाँ नेतृत्व आएपछि पुलको काम सम्पन्न भएको बताए।
उनले भने, ‘धेरै पहिले नै हामी सबै राजनीतिक दलका राजनीतिक कर्मीहरू मिलेर पुल निमार्णमा लाग्यौँ। सङ्घीय सरकार मार्फत हामीले काम सुरु गरेका थियौँ, तर प्रदेशमा गएपछि तीन वर्षसम्म काम रोकियो। फेरी देशमा नयाँ नेतृत्व आएपछि पुलको काम सम्पन्न भयो। त्यसको दुई महिना पछि बाढी आयो। यो पुल नबनेको भए चन्दनपुर बजार बाकी रहँदैनथ्यो।’
उनले ललितपुर, रौतहट वैकल्पिक राजमार्गको रूपमा काम भइरहेको पनि बताए। यस्तै महाङ्काल गाउँपालिकाका अध्यक्ष गणेश बहादुर केसीले गाउँपालिकामा धेरै ठुला ठुला खोलाहरू भएको तर पुल कतै नभएको बताए।
उनले भने,‘यहाँ दुर्लुङ खोला, टुङ्गन खोलासहित धेरै ठुला ठुला खोलाहरू छन्। यी खोलाहरूमा कहिँकतै पुल छैन, यहाँ एउटा पुल बन्यो तर बाढीले पुलसँगै झण्डै ज्यानै लग्यो।’