नेपाली चलचित्र ‘सारंग’को ग्राण्ड प्रिमियर सम्पन्न भएको छ।
शुक्रवारदेखि रिलिज हुने चलचित्रको भव्य समारोहसहित काठमाडौँको सिभिल मलस्थित क्युएफएक्समा प्रिमियर गरिएको हो।
प्रिमियरमा सो पछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नायिका ऋचा शर्माले चलचित्र ‘सारंग’ले आफ्नो जीवनमा ठुलो पाठ सिकाएको बताइन्।
दर्शकले धेरै खालको सिनेमा रुचाउने भएको कारण सिनेमा पन पराउने हो कि नपराउने भन्ने जोखिम रहेको पनि उनले बताइन्।
उनले भनिन्,‘म पनि स्वयम् आमा भएको कारणले पनि चलचित्रबाट मैले मेरो लागि ठुलो पाठको रूपमा पनि लिएको छु। हरेक सिनेमा जोखिम हो भन्छु। अहिलेको समयमा पनि दर्शकले विभिन्न खालको सिनेमा खोजिरहनु भएको छ। भन्न नै सकिन्न कुन सिनेमा ले के कस्तो गर्छ भनेर त्यसैले जोखिम त लिएकै हो।’
त्यस्तै नायक उत्पल झाले बच्चाहरुको काम र सिनेमा समग्र रूपमा राम्रो बनेको कारण परिवार नै गएर हेर्न आग्रह गरे। जनताको प्रतिक्रिया कस्तो आउँछ भनेर आफू एकदमै उत्साहित भएको पनि बताउँछन्।
उनले भने,‘बच्चाहरुको काम र सिनेमा समग्र रूपमा मिठो बनेको छ। सबै परिवार सहित आएर हेर्न सक्नुहुने छ। सबै वर्गसँग सम्बन्धित छ। अभिभावक,शिक्षा वर्गका साथै साना बालबच्चाले पनि सजिलै बुझ्न सक्ने सिनेमा बनेको छ। एकचोटी आएर हेर्नुहोस् र हामीलाई सुझाव दिनुहोस्। जनताको प्रतिक्रिया कस्तो आउँछ भनेर एकदमै उत्साहित छु।’