ताप्लेजुङको मुक्कुम्लुङ (पाथीभरा) मा केबलकार निर्माण स्थगित भएको छ।
पाथिभरास्थित माथिल्लो स्टेशनको निर्माण कार्य भइरहेको केबलकारको काम तत्कालका लागि स्थगित गर्न सरकार सहमत भएको हो। यस सहमतिसँगै ‘नो केबलकार समूह’ले आन्दोलनका कार्यक्रम स्थगित गरेको छ।
गृह मन्त्रालयद्वारा गठित वार्ता टोली र पाथीभरामा केबलकार निर्माणको विरोध गरिरहेका पक्षबीच मंगलबार ६ बुँदे सहमति भएको हो। सहमति अनुसार पाथीभरा केबलकारको स्टेसनमाथिको निर्माण कार्य हाललाई स्थगन हुनेछ। स्टेसनका सन्दर्भमा आउँदो २७ माघमा हुने वार्तामा विस्तृत छलफल हुनेछ।
यस्तै, आन्दोलनका क्रममा घाइते भएकाहरूको सरकारले निःशुल्क र प्रभावकारी रूपमा स्वास्थ्य उपचार गर्ने र पक्राउ परेकाहरुलाई बिना सर्त रिहाई गर्ने सहमती भएको छ।
तपसिल
१. पाथीभरा केबलकारको स्टेसनमाथिको निर्माण कार्य स्थगन गर्ने र स्टेसनका सन्दर्भमा मिति २०८१ माघ २७ गते हुने वार्तामा विस्तृत छलफल गर्ने।

२. सरकारले घोषणा गरे बमोजिम आन्दोलनका क्रममा घाइते भएकाहरुको निःशुल्क र प्रभावकारी रुपमा स्वास्थ्य उपचार गर्ने।
३. २०८१ माघ १२ गते भएको घटनाको विषयमा छानबिन गरी कानुनी कारबाही गर्ने।
४. आन्दोलनका क्रममा थुनामा रहेका थुनुवा बन्दीहरुको विना शर्त तत्काल रिहाइको प्रक्रिया प्रारम्भ गर्ने।
५. मुक्कुमलुङ संरक्षक पक्षबाट अनिश्चितकालीन यातायात बन्द स्थगन गर्ने।
६. मुक्कुमलुङ संरक्षक पक्षधरहरुबाट वार्ताका दौरानमा माग भएका पाथीभरा केबलकार आयोजना निर्माणमा रहेका असहमति लगायतका विषयका सम्बन्धमा विस्तृत छलफल गर्न मिति २०८१ माघ २७ गते बिहान ११ः०० बजे वार्तामा बस्ने।