सुदूरपश्चिम विश्वविद्यालयका मुकेश विष्ट र त्रिभुवन विश्वविद्यालय (टीयू) की विना थारुले दोस्रो विश्वविद्यालय खेलकुद महोत्सवअन्तर्गत एथलेटिक्सको १ सय मिटर दौडमा बुधवार स्वर्ण जितेका छन्। मुकेश पुरुष र विना महिलामा पहिलो भए।
पोखरा रङ्गशालामा मुकेशले निर्धारित दूरी ११.२२ सेकेन्डमा पूरा गरे। ११.६५ सेकेन्ड समयमा काठमाडौँ विश्वविद्यालयका विकासकुमार शाह दोस्रो तथा ११.८४ सेकेन्ड समयमा टीयूका प्रकाश जोशी तेस्रो भए। 
विनाले निर्धारित दूरी तय गर्न १४.४० सेकेन्ड समय खर्चिन्। टीयूकी आकृति चौधरी १४.९० सेकेन्डमा दोस्रो तथा पूर्वाञ्चल विश्वविद्यालयकी प्रमिला खड्का १५.०० सेकेन्डमा तेस्रो बने।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगिताको पुरुष लङजम्पमा पनि मुकेशले अर्को स्वर्ण जिते। उनले ६.७० मिटर जम्प गरे। सुदूरपश्चिमकै खेमराज जोशी (५.८२ मिटर) दोस्रो तथा टीयूका दिवस रेग्मी (५.५३ मिटर) तेस्रो भए।
गण्डकी विश्वविद्यालयको सह–आयोजना तथा विश्वविद्यालय अनुदान आयोगको समन्वयमा भइरहेको प्रतियोगिताको पुरुष ४ सय मिटर दौडमा टीयूका सुनिलकुमार बानियाँ पहिलो भए। उनले ५३.९१ सेकेन्डमा निर्धारित दूरी तय गरे। 
टीयूका दिवस रेग्मी (५५.५६ सेकेन्ड) दोस्रो तथा सुदूरपश्चिमका दीपकराज भाट (५६.२९ सेकेन्ड) तेस्रो स्थानमा रहे। यो प्रतिस्पर्धाको महिलामा मधेस प्रदेश विश्वविद्यालयकी हिमाली शाहीले स्वर्ण जितिन्। हिमालीले निर्धारित दूरी पूरा गर्न १ मिनेट १०.४६ सेकेन्ड समय लगाइन्। टीयूकी राज्यलक्ष्मी रावल १ (मिनेट १०.४८ सेकेन्ड) ले रजत तथा गण्डकीकी कृति गिरी (१ मिनेट १५.३० सेकेन्ड) ले कांस्य हात पारे। 
एथलेटिक्सको पहिलो दिन ५ स्वर्णको टुङ्गो लाग्दा सुदूरपश्चिम र टीयूले समान २–२ स्वर्ण जितेका छन्। मधेस प्रदेशले १ स्वर्ण जितेको छ। १० स्पर्धा समावेश एथलेटिक्सको बाँकी ५ स्पर्धाको फाइनल बिहीबार हुनेछ।