स्वर्गद्वारी गुठी पीडित मोही किसानले विभिन्न तीन बुँदे माग राख्दै काठमाडौँमा आन्दोलन सुरु गरेका छन्।
आइतबारदेखि काठमाडौँको माइतीघरमा दाङ देउखुरीबाट आएका स्वर्गद्वारी गुठी पीडितहरूले २०४५ सालदेखि जिल्ला केन्द्रित आन्दोलन गर्दा पनि न्यायपूर्ण मागको सुनुवाइ नभएको भन्दै काठमाडौँमै आएर आन्दोलनमा उत्रिएका हुन्।
मोही किसानले जोतभोग गर्दै आएको जमिन मोहीको नाममा रैतानी हुने कानुनी व्यवस्था गर्न, विशेष प्रकृतिको निजी भनिएको गुठी जग्गाका निष्कासित मोहीको हक पुनर्स्थापित गर्न र किसानले बुझाउनु पर्ने रैतानी बापतको तिरो वडामार्फत बुझाउने व्यवस्था गरिदिन उनीहरूको माग रहेको छ।
स्वर्गद्वारी गुठीको मोही दाङ जिल्लामा १२ मौजा (गाउँ) मा ३ हजार ५ परिवारका करिब १६ हजार जनसङ्ख्या बसोबास छ। कुल १ हजार ५० बिघा जमिन गुठी अन्तर्गत रहेको छ।
किसानले खेतीपाती गर्दै बसोबाससमेत गर्दै आएको जग्गाको स्वामित्व भने स्वर्गद्वारी गुठीको नाममा रहेको छ भने पीडितहरूसँग भएको मोहियानी पुर्जा २०६२ चैत १४ गते सर्वोच्च अदालतको संयुक्त इजलासबाट परमादेशसमेत जारी गरी खारेजी गरिएको थियो।