राष्ट्रिय खोप कार्यक्रम तथा एच.पि.भी खोप अभियानका लागि नायिका मनिषा कोइरालालाई सद्ववाना दूत घोषणा गरिएको छ। 
बुधवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक कार्यक्रमको आयोजना गर्दै कोइरालालाई सद्ववाना दूत घोषणा गरिएको हो। 
सोही क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपालका महिलाहरू सबैभन्दा बढी पाठेघरको क्यान्सरले प्रभावित भएको भन्दै भावी पुस्तालाई यो समस्याबाट मुक्त बनाउनको लागि एच।पि।भी खोप उपलब्ध गराउने र देशव्यापी अभियानका रूपमा अगाडि लैजाने उद्देश्यले कार्यक्रमको सुरुवात गरेको बताए।  
उनले भने, ‘हामीले नेपाललाई सबै खाले क्यान्सर मुक्त बनाउने अभियान कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर काम गरिरहेका छौ। उपचारको क्षेत्रमा मात्र होइन रोकथामको क्षेत्रमा पनि काम गर्न जरुरी छ। नेपालका महिलाहरू सबैभन्दा बढी पाठेघरको क्यान्सरले प्रभावित भएको देखिन्छ। हाम्रो भावी पुस्ता यो समस्याबाट मुक्त होस भनेर हामीले एच।पि।भी खोप उपलब्ध गराउने र देशव्यापी अभियानका रूपमा यसलाई अगाडि लानको लागि यो कार्यक्रमको सुरुवात गरेका हौ।’
यसको साथै, उनले नेपालमा ६ कक्षा देखि १० कक्षासम्ममा अध्ययनरत १६ लाख १० वर्षदेखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो खोप उपलब्ध गराउन लागेको पनि बताए। 
यस्तै, नायिका मनिषा कोइरालाले पनि आफै पनि क्यान्सरबाट निको भएको भन्दै क्यान्सरको रोकथाम गरेर ज्यान बचाउन सक्यौ भने एकदमै ठुलो काम हुने बताइन्। 
उनले भनिन्, ‘खोप किन आवश्यक हुन्छ र यसबाट के फाइदा हुन्छ भनेर भन्नको लागि म यसमा जोडिएको छु। किनभने म आफै पनि क्यान्सरबाट निको भएर आएको मान्छे हो। त्यस कारण स्वास्थ्य कति महत्त्वपूर्ण छ भन्ने कुरा मलाई थाहा छ। हामीले क्यान्सरको रोकथाम गरेर ज्यान बचाउन सक्यौ भने यो एकदमै ठुलो कुरा हो।’