राष्ट्रपति रामचन्द्र पौडेलले सहिदहरूले नेपाली जनताको स्वतन्त्रताको लागि गरेको बलिदानबाट प्रेरणा लिएर नेपाललाई स्वर्ग बनाउने अभियानमा जुट्न सबैलाई अपिल गरेका छन्।
तनहुँको व्यास नगरपालिका–८ पुलिमराङमा रहेको सहिद पार्कमा पुगेर सहिदहरूको सालिकमा माल्यार्पण पछि स्थानीयलाई सम्बोधन गर्दै उनले अब विदेश जाने छटपटाहट छोडेर नेपाललाई नै स्वर्ग बनाउने अभियानमा जुट्नु पर्ने बताए।
उनले भने,‘सहिदहरूको ठुलो बलिदानले आज हामीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेका छौ। अब विदेश जाने छटपटाहट छोडौँ र नेपाललाई नै स्वर्ग बनाउने अभियानमा जुटौँ।’
राष्ट्रपति पौडेलले पुलिमराङमा रहेको सहिद पार्कमा रहेका सहिदहरू भारत गुरुङ, शमशेर बहादुर गुरुङ, लालध्वज गुरुङ, धर्म ध्वज गुरुङ, सर्व सिंह गुरुङ, हस्तवीर गुरुङको सालिकमा माल्यार्पण गरेका थिए।
लोकतान्त्रिक आन्दोलनका क्रममा विभिन्न समयमा शहादत प्राप्त गर्ने पुलिमराङका ६ जनाको सालिक यो पार्कमा रहेको छ। जसमध्ये धर्म ध्वज गुरुङले १ माघ २००७ मा बन्दीपुरमा राणा शासनविरुद्धको आन्दोलनमा शाहदत्त प्राप्त गरेका थिए।
त्यसैगरी, २०१८ सालमा निर्दलीय पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा पुलिमराङका लालध्वज गुरुङ, सर्व सिंह गुरुङ र हस्तवीर गुरुङले कोत्रेमा शहादत प्राप्त गरेका थिए। शमशेर बहादुर गुरुङ भरतपुरमा र भारत गुरुङ पुलिमराङमै मारिएका थिए।
राष्ट्रपति पौडेलले माघ १६ गते सहिद दिवसका अवसरमा गृह जिल्ला पुगेर लोकतान्त्रिक आन्दोलनमा शाहदत्त प्राप्त गर्नुभएका सहिदहरूको सालिकमा माल्यार्पण गरेर श्रद्धा प्रकट गरेका हुन्।
सो क्रममा प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरू स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।