रौतहट प्रहरीले नेपालबाट भारत तर्फ लैजाँदै गरेको गाईलाई नियन्त्रणमा लिएको छ। 
जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको गस्ती टोलीले राजपुर नगरपालिका वडा न ३ फतुवाबाट ६ वटा गाई नियन्त्रणमा लिएको हो। 
नेपालबाट अवैध रूपमा गाई भारत तर्फ लैजाँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको  रौतहट प्रहरी नायव उपरीक्षक दीपक कुमार रायले बताए। 
उनका अनुसार प्रहरी टोलीलाई देख्नसाथ तस्करहरू भागेका हुन्। प्रहरीले  नियन्त्रणमा लिएको गाईलाई गौर भन्सार कार्यालयमा बुझाएको छ। 
भारतबाट नेपालमा वा नेपालबाट भारत वैधानिक तरिकाले पशुचौपाय लैजाँदा क्वारेन्टाईनमा परीक्षण गरी स्वस्थ रहेमा मात्र लान पाउने नियम छ। 
वैधानिक तरिकाले ल्याउँदा प्रक्रिया झन्झटिलो हुने भएकाले  सीमा क्षेत्रमा पशुचौपाय अवैध तस्करी हुने गरेको स्थानीयहरू बताउँछन्। नेपाल भारत सीमा नाकामा प्रहरी तथा सशस्त्र प्रहरी तैनाथ रहेका कारण तस्करहरू पशुचौपाय छोडेर भाग्ने गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।