नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिको कुनै पनि यात्रामा भेट कहिले पनि हुन नसक्ने गरी अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन्। 
सोमबार सभामुख देवराज घिमिरेले राखेको ठुला दलका प्रमुख सचेतकहरूसँगको छलफल पछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले प्रचण्ड मुलुकलाई शान्तिपूर्ण ढङ्गबाट अगाडि बढोस् भन्ने चाहाना गर्ने व्यक्तिभित्र पनि पर्नुहुन्न कि भन्ने आशङ्का पैदा भएको बताए। 
उनले भने,‘उहाँ आफैँमा पनि मुलुकलाई एउटा शान्तिपूर्ण ढङ्गबाट अगाडि बढोस् भन्ने चाहाना गर्ने व्यक्तिभित्र पनि पर्नुहुन्न कि भन्ने अब आशङ्का लागेको छ। विगतमा उहाँको व्यवहारले त देखाएको थियो। राजनीतिको कुनै पनि यात्रामा भेट कहिले पनि हुन नसक्ने गरी जसरी उहाँले भित्तामा पुगेर अभिव्यक्तिहरू दिइरहनु भएको छ। एकदम नाङ्गो शैलीमा यो कुरा सुहाएको छैन।’
त्यस्तै उनले अध्यक्ष प्रचण्डले तेस्रो दलको रूपमा रहँदा पनि कहिले एमालेको र कहिले काँग्रेसको काँध चढेर १८ महिना देशको नेतृत्व गर्ने कुरामा पाएको सहयोग बिर्सेर सरकारप्रति हिलो छ्याप्ने भ्रम सृजना गर्ने गरी अभिव्यक्ति दिने गरेको बताए। 
उनले भने,‘उहाँले बुझ्न पर्ने कुरा के हो भने उहाँ तेस्रो दलको रूपमा हुनुहुन्थ्यो कहिले एमालेको काँध चढेर कहिले काँग्रेसको काँध चढेर उहाँ १८ महिना देशको नेतृत्व गर्ने कुरा एमाले वा काँग्रेसको सहयोगबाट पाएको कुरा उहाँले यति चाँडो कसरी बिर्सेर एमाले र काँग्रेस मिलेर बनेको सरकारलाई पहिलो दिन देखि नै जुन खालको हिलो छ्याप्ने भ्रम सृजना गर्ने गरी जसरी अभिव्यक्ति दिने काम गर्नुभएको छ। यसको औषधि छैन।’ 
साथै उनले सरकार ढले पनि एमाले वा काँग्रेस सामेल नभई यो देशमा सरकार बन्न नसक्ने दाबी गरे। 
उनले भने, ‘अराजकता र अस्थिरता चाहनेले यस्तै कुराको खेतीपाती गर्छन्। उहाँले  त्यही गरिरहनु भएको छ। कल्पनामा यो सरकार ढले पनि उहाँले कुन सरकार बनाउनु हुन्छ ? एमाले वा काँग्रेस सामेल नभई यो देशमा सरकार बन्दैन। उहाँलाई यो कुरा पनि थाहा छ कि यो सरकार कुनै पनि हिसाबले कमजोर धरातलमा पुगेको सरकार होइन।’