बालबच्चा तथा परिवारलाई मनोरञ्जनसहित आवश्यक वस्तु तथा सेवा एकै छाना मुनी उपलब्ध गराउनका लागि बेबी एक्स्पो आयोजना हुने भएको छ।
माघ १६ गतेदेखि इभेण्ट सोलुसन प्रालिको आयोजनामा राजधानीको भृकुटीमण्डपमा ‘फेमिली एण्ड बेबी एक्स्पो २०२५’ आयोजना हुन लागेको हो।
माघ १९ गतेसम्म ४ दिन आयोजना हुने एक्स्पोको अभिनेत्री प्रियंका र उनकी छोरी आयांकाले उद्घाटन गर्ने कार्यक्रम तय भएको इभेण्ट सोलुसनले जनाएको छ।
‘वान स्टप सोलुसन फर फेमिली एण्ड बेबी रिलेटेड प्रोडक्ट्स एण्ड सर्भिसेज’ भन्ने स्लोगानका साथमा आयोजना हुने एक्स्पोमा बालबच्चाका लागि आवश्यक सबै सामान तथा सेवा एकै छाना मुनी उपलब्ध हुनेछ।
निःशुल्क प्रवेश गर्न सकिने एक्स्पोमा बालबालिकाहरूले मस्कट एपियरेन्स, पोएट्री तथा क्यालिग्राफी एक्टिभिटिजमा सहभागी हुन सक्छन्। फोटो बुथ तथा ३६० डिग्री क्यामेरा आकर्षणका रूपमा रहने एक्स्पोमा ट्रिजर हण्ट, स्पिन द ह्वील, स्काउट गेम तथा डान्समा बालबच्चा रमाउन सक्छन्।
इभेण्ट सोलुसनका प्रबन्ध निर्देशक विजय सागर प्रधानका अनुसार घर भित्र बसेर मोबाइल हेर्ने बानी परेका बालबच्चाका लागि रिफ्रेस् हुनका लागि एक्स्पो उचित गन्तव्य बन्नेछ। अभिभावकहरुले आफ्ना बालबच्चालाई सक्रिय बनाउन तथा फरक वातावरण देखाउन एक्स्पोमा ल्याउन सक्ने उनको भनाई छ ।
प्रधानका अनुसार बेलुन पपअप, म्युजिकल चियर, चक चा दौड, फेस पेन्टिङ तथा ड्रइङ, पानी पुरी तथा पपकर्न खाने प्रतियोगिता पनि सञ्चालन हुनेछन्। यस्ता क्रियाकलापमा सहभागी हुनेहरूलाई दैनिक रूपमा गोला प्रथाबाट उपहार प्रदान गरिनेछ।
बालबालिका तथा अभिभावकलाई लक्षित गरी विभिन्न किसिमका जानकारीमूलक सेसनहरु पनि सञ्चालन हुने एक्स्पोमा आमाबाबु र परिवार सम्बन्धी जानकारी प्रदान गरिनेछ भने महिला तथा बालबालिकामा हुने क्यान्सर तथा अटिजम र आईभिएफका बारेमा जानकारी दिने सेसनहरु पनि सञ्चालन हुनेछन्।
एक्स्पोमा जादु तथा साङ्गीतिक मनोरञ्जनात्मक प्रदर्शनीहरू पनि सञ्चालन हुनेछन्। यसका अलावा बालबच्चाका लागि आवश्यक पर्ने सबै किसिमका वस्तु तथा सेवा सुपथ मूल्यमा खरिद गर्न सकिने प्रधानले जनाए। शनिवार समापन हुने एक्स्पोको क्लोजिङ सेसनमा ‘टिम कार्टुन’ को विशेष प्रस्तुति रहनेछ।
बालबच्चा तथा अभिभावक गरी २५ हजारभन्दा बढीले अवलोकन गर्ने लक्ष्य लिइएको एक्स्पोलाई जार रेस्टुरेन्ट, द वन्डरल्याण्ड, साउथवेष्टर्न स्कुल, वर्किङ टुगेदर फर सोसियो इकोनोमिक ट्रान्सफर्मेशन, ललितपुर उद्योग वाणिज्य सङ्घ, उद्योग वाणिज्य सङ्घ काठमाण्डौं, नेपाल स्काउट, आक्र्स फुड, साउथ एसियन एस्ट्रो फेडेरेशन ले सहयोग गरेका छन्।
त्यसैगरी एक्स्पोका सहयोगीहरूमा नेपाल फर्निचर तथा फर्निसिङ सङ्घ, एक्जिविशन लाइट हाउस, लायन्स क्लब अफ काठमाण्डौं युनिभर्सल, फ्रेस रस, वेबट्युन्ड स्टुडियो, लक्ष्मी हेयर एण्ड ब्युटी स्टुडियो, ऐविवि अस्ट्रेलिया तथा वर्ल्डलिंक कम्युनिकेसन रहेका छन्।
एक्स्पोले अभिभावकलाई आफ्ना बालबालिकाको क्षमता परीक्षण गर्ने उचित गन्तव्य बन्ने आयोजकको अपेक्षा छ। बजारमा भौंतारिएर वस्तु तथा सेवाका साथै मनोरञ्जनका साधनको खोजी गर्नुपर्ने अभिभावकको बाध्यतालाई पनि एक्स्पोले समाधान गर्ने आयोजकको विश्वास छ।