पर्यटकीय नगरी पोखरामा आजदेखि प्रहरी जनताको घर–घरमा पुग्ने भएको छ। यसभन्दा अघिका दिनहरूमा गाउँ–टोलहरूमा मात्र गस्तीको रूपमा पुग्ने गरेको प्रहरी आजदेखि पोखराको पर्यटकीय क्षेत्रका घर–घरमा पुग्ने भएको हो।  
पोखरा महानगरपालिका अन्तरगतको पर्यटकीय क्षेत्रका ११ वटा वडाहरू हेर्ने वडा प्रहरी कार्यालय बैदाम पोखराले जनताको घर–घरमा पुग्ने अभियान सञ्चालन गरेको हो।
प्रहरी घर–घरमा पुगेको यकिन गराउन वडा प्रहरी कार्यालय बैदाम पोखराले प्रहरी पुगेको हरेक घरमा एउटा प्रहरी सम्बन्धी जानकारी र गुनासो राख्ने सम्पर्क नम्बर उल्लेख भएको क्यु आर कोड भएको स्टिकर टाँस्ने बैदाम प्रहरी प्रमुख डिएसपी सन्तोष निरौलाले जानकारी दिए। 
उक्त अभियानको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलियाले आज सुरुवात गरे। सोही अवसरमा एसपी ओलियाले यस अभियानले शान्ति सुरक्षा कायम गर्नमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै जनता र प्रहरी बीचको दुरी कम गर्न, उनीहरुबीच संवाद र सहकार्य गर्नमा सहयोग हुने विश्वास व्यक्त गरे। उनले वडा प्रहरी कार्यालय बैदाम पोखराले आजबाट सुरु गरेको अभियान कास्की जिल्लाका अन्य क्षेत्रहरुमा पनि लागू गर्ने बचनबद्धता व्यक्त गरे। 
वडा प्रहरी कार्यालय बैदाम पोखराका प्रमुख डिएसपी सन्तोष निरौलाले यस अभियान अन्तरगत वडा प्रहरी कार्यालय मातहत रहेका पोखरा महानगरका ११ वटा वडाका करिब ५० हजार घर–घरमा पुगेका प्रहरीले जनताका पिर मर्का एवम् समस्याहरूको सुनुवाइ गर्ने र सम्भव भए तत्कालै, यदि सम्भव नभए सम्बन्धित निकायसम्म पुर्‍याउन मद्दत गर्ने बताए।
उक्त समारोहमा सहभागीहरूले भने प्रहरीको अभियानदेखि उत्साहित भएर स्टिकर छपाइ गरेर दिने बाचा गरेका थिए। अभियानका क्रममा आवश्यक पर्ने करिब ५० हजार स्टिकर छपाइ गरेर दिन उनीहरूले प्रतिबद्धता व्यक्त गरेका थिए।