नेपाल पत्रकार महासङ्घले गृहमन्त्री रमेश लेखकलाई ज्ञापन पत्र बुझाएको छ।
सोमबार पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्माको समूहले प्रेस स्वतन्त्रता हननमा संलग्नलाई कारबाहीको माग गर्दै गृहमन्त्री लेखक समक्ष ध्यानाकर्षण पत्र बुझाएको हो।
उक्त ज्ञापन पत्र बुझ्दै गृहमन्त्री रमेश लेखकले स्वतन्त्र पत्रकारितालाई कसैले पनि अवरोध गर्न नहुने बताए। उनले पत्रकारितालाई व्यवसायीक ढङ्गले निष्पक्ष र स्वतन्त्रपूर्ण बनाउन सबै निकाय र पत्रकार महासङ्घले पनि ध्यान दिनुपर्ने बताए।
उनले भने, ‘खास गरेर पत्रकारिताको व्यवसायीक स्वतन्त्रता र पत्रकारकामाथि कुनै पनि खालका अवाञ्छित दबाबहरू भौतिक खालका, मानसिक खालका अथवा स्वतन्त्र पत्रकारलाई अवरोध गर्ने, खण्डित गर्ने, दबाबहरू कसैले गर्नु हुँदैन। पत्रकारितालाई व्यवसायीक ढङ्गले निष्पक्ष र स्वतन्त्र वातावरण बनाउन।सरकार तयार छ।’
साथै उनले पत्रकारिता लोकतन्त्रको बाहक र संरक्षक समेत भएको बताए। उनले पत्रकारिता लोकतन्त्रको थर्मोमिटर समेत भएकाले नेपालको संविधानले पूर्ण पत्रकारिता स्वतन्त्रतामा ध्यान दिएको बताए।
त्यसैगरी अध्यक्ष शर्माले पत्रकार महासङ्घको निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सरकारले निभाएको भूमिकाप्रति धन्यवाद दिइन्।