अछामको दुई किशोरी मृत्यु प्रकरणमा प्रहरीले दुई युवालाई सोधपुछका लागि भन्दै पक्राउ गरेको छ। उनीहरूलाई आइतबार साँझ ढकारी गाउँपालिकाबाट पक्राउ गरिएको अछाम प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरूको परिचय खुलाइएको छैन। दुवैजना २० वर्षभन्दा कम उमेरका युवा भएको बताइएको छ।
ढकारी गाउँपालिका ८ की १५ वर्षीया सरस्वती खड्का र १४ वर्षकी इशरा खड्काको सोही गाउँपालिकाकै वडा नम्बर १ स्थित सुनघर सामुदायिक बनमा शनिबार साँझ शव फेला परेको थियो।
शुक्रबार बिहान घरबाट बाख्रा चराउन गएका उनीहरू त्यही दिनबाट सम्पर्कविहीन भएका थिए।
मृतक दुवैजना एउटै परिवारको हुन्। परिवारका सदस्यहरूले दुवै जनाको हत्या भएको भन्दै छानबिनको माग गरिरहेका छन्। सोही क्रममा दुई युवा पक्राउ हुन्।