भारतको प्रयागराजमा महाकुम्भ सुरु भएको छ। आज पौष पूर्णिमाको पहिलो स्नान सुरु भएको हो। 

आज मात्रै १ करोड भक्तजनले संगममा स्नान गर्ने अपेक्षा गरिएको छ। भक्तजनमा २० क्विन्टल फूल चढाइनेछ। १४४ वर्षमा दुर्लभ खगोलीय संयोजनमा महाकुम्भ हुन लागेको हो।

प्रयागराजमा देशका कुना–कुनाबाट भक्तजन आउने क्रम जारी रहेको छ। कुम्भमा स्नान गर्न विदेशी भक्तजनको भीड लागेको छ। स्थानिय प्रशासनका अनुसार जर्मनी, ब्राजिल, रुसलगायत २० देशबाट भक्तजन आइ पुगेका छन्। संगममा हरेक घण्टा २ लाख भक्तजन स्नान गर्ने गरी व्यवस्था मिलाइएको छ।

आजदेखि भक्तजनले ४५ दिनसम्म चल्ने कल्पवास सुरु गर्नेछन्। संगममा प्रवेश गर्ने सबै बाटोमा भक्तजनको भीड लागेको छ। सवारी साधनको प्रवेश बन्द गरिएको छ। भक्तजनहरू बस र रेलवे स्टेशनबाट १०–१२ किलोमिटर पैदल हिँडेर संगम पुगिरहेका छन्। ६० हजार सैनिक सुरक्षा व्यवस्था कायम गर्न खटिएका छन्।

साथै, एप्पलका सह संस्थापक स्टिभ जब्सकी पत्नी लरेन पावेल जब्स महाकुम्भमा पुगेकी छन्। उनले निरञ्जनी अखाडामा अनुष्ठान गरेकी छिन्। अब कल्पवास पनि गर्ने छिन्।