नेकपा एमालेबाट निष्कासित नेता डा. भीम रावलले देशको जगलाई भत्किन नदिन सबै देशभक्तहरू एक भएर अगाडि बढ्नुपर्ने बताएका छन्।
बिहीबार पृथ्वी नारायण शाहको जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेता रावलले देश र जनताका लागि रगतको खोला बगाएका सहिदहरूको रगतको आडमा बसेर भ्रष्टाचार खेती गर्नेहरू मौलाइ रहेको बताएका हुन्।
उनले भने ,‘हाम्रो देशका लागि पृथ्वी नारायण शाहले जुन अखण्ड जग बसाल्नु भएको थियो आज प्रत्येक देशभक्तहरूले त्यो जगलाई भत्किन नदिन यी जगका इँटाहरू सर्वनाशतिर जान नदिन एक भएर अगाडि बढ्नुपर्ने दिन आएको छ। देश र जनताको लागि हामी भन्दा अगाडिका सहिदहरूले रगत बगाएर गए। आज उनीहरूको रगतको आडमा बसेर भ्रष्टाचार खेती गर्नेहरू यहाँ मौलाइरहेका छन्।’
यसैगरी, उनले सरकार चलाउनेहरूले नै नेपाली जनतालाई भुटानी शरणार्थी बनाएर रकम खाएको आरोप लगाए।
उनले भने, ‘सरकार चलाउने र ठुला ठुला पदमा बस्नेहरूले नेपाली जनतालाई बेच्ने र नक्कली शरणार्थी बनाएर रकम खाने, जापानको विमानस्थलमा नेपालीलाई बेच्न मन्त्री आफैँ जाने, सरकारी जग्गा हड्पिएर आफ्नो आफ्न्तहरुलाई बाँड्ने, कुनै व्यक्ति विशेषको स्वार्थको लागि प्रधानमन्त्री कार्यालयले कुनै अपुग कथित सञ्चार विज्ञको हतियार बन्ने यस्तो घिन लाग्दो काम गर्दै आएका छन्।’
साथै उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आँखामा पट्टी बाँधेको शासकको संज्ञा दिएका छन्। रावलले ओलीले सबै जनता मूर्ख छन्, म मात्रै सर्वज्ञ हुँ भन्ने भाव प्रस्तुत गरिरहेको बताएका हुन्।
उनले भने , ‘कतिपय मान्छेहरू भन्छन्, हामीले त सरकार संविधान संशोधनका लागि ल्यायौँ। तर, यदि मेरो आँखा र कानले धोका दिएको छैन भने, देशका प्रधानमन्त्री भन्नुहुन्छ, अब संविधान संशोधन २०८७ सालमा हुन्छ। आश्चर्य लाग्छ, सरकारमा म पनि गएको थिएँ। तर, यति साह्रो आँखामा पट्टी लगाएर, जनता सबै मूर्ख छन्, म मात्रै सर्वज्ञता छु भन्ने यस्तो कुनै देशको शासक हुन्छ भन्ने मलाई लाग्दैन।’