नेपाल युवा परिषद्ले काभ्रेको रोशी गाउँपालिकाका बाढी पहिरो पीडित विद्यार्थीहरूलाई शैक्षिक सामाग्रीहरू वितरण गरेको छ।
विगत १३ वर्षदेखि युवाहरूको क्षेत्र क्रियाशील युवा सशक्तीकरण, जलवायु परिवर्तन, युवा उद्यमशीलता लगायतका क्षेत्रमा कार्य गर्दै आइरहेको परिषद्ले गत असोज दोस्रो साता गएको बाढी पहिरोबाट पीडित परिवारका विद्यार्थीलाई शैक्षिक सामाग्रीहरू वितरण गरिएको संस्थाका केन्द्रीय अध्यक्ष सरोज बानियाँले जानकारी दिए।
बाढीले रोशी गाउँपालिकामा ठुलो परिणाममा भौतिक र मानवीय क्षति भएको थियो। त्यसमा पनि विभिन्न सामुदायिक विद्यालयहरूको भौतिक क्षतिले त्यस विद्यालयमा अध्ययनरत विद्यार्थी भाईबहिनीहरुको शैक्षिक जीवनमा नै असर पर्ने पो हो की भन्ने आशयका साथ नेपाल युवा परिषद् र मास्टरपीस एनवाईसीको अगुवाइमा, लायन्स क्लब इको फ्रेण्डी, चिनारी नेपाल, रैथाने एग्री प्रडक्टस् नेपाल र लुम्बिनी विश्व शान्त मञ्चको संयुक्त पहल कदमीमा रोशी गाउँपालिका को बाढी पहिरो प्रभावित विद्यार्थीहरूलाई शैक्षिक सामाग्रीहरू वितरण सम्पन्न गरिएको अध्यक्ष बानियाँले बताए।
रोशी गाउँपालिका २१५ जना बाढी पहिरो पीडित विद्यार्थीहरूलाई पुग्ने गरी शैक्षिक सामाग्रीहरू वितरण गरेकोमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद भन्तनाले नेपाल युवा परिषद् र परिषद् लगायत सहयोगी संस्थाहरूलाई विशेष धन्यवाद व्यक्त गरे।
आज रोशी गाउँपालिका कार्यालयमा आयोजित कार्यक्रममा रोशी माध्यमिक विद्यालयका २१ जना गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई नेपाल युवा परिषद्का संस्थापक एवं केन्द्रीय अध्यक्ष सरोज बानियाँको हातबाट शैक्षिक सामाग्री वितरण गरेको कुरा परिषद्का केन्द्रीय सदस्य एवं बागमती प्रदेश संयोजक नवीन गिरीले बताए।
शैक्षिक सामाग्री वितरण कार्यक्रममा नागरिक समूहका अध्यक्ष निगम हुमागाईँले शिक्षाको उज्यालो घामबाट विद्यार्थी भाईबहिनीहरुलाई समाजसँग जोड्न सक्नुपर्छ र विद्यार्थी भाईबहिनीहरुले पनि समाजलाई आफूले सक्दो सहयोग गर्न सक्नुपर्छ भन्दै काभ्रे जिल्लावासीको तर्फबाट पनि नेपाल युवा परिषद्लाई धन्यवाद व्यक्त गरे।
वि.सं. २०७२ को महाभूकम्पबाट प्रभावित विभिन्न जिल्लाका विद्यालय तथा विद्यार्थीहरूलाई शैक्षिक सामाग्रीहरू वितरण गरेको परिषद्ले आगामी दिनहरूमा पनि यस्तै प्रकोपमा परेका विभिन्न स्थानहरूमा समेत शैक्षिक सामाग्रीहरू वितरण गर्ने लक्ष्य राखिएको बानियाँले बताए।