संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मन्त्रालयगत नीति निर्माणमा सक्रियता देखाएका छन्।
बुधवार भएको छलफलका क्रममा उनले कानुनी शासनको बाटोमा डोर्याउन मौजुदा नीतिहरू प्रभावकारी नभएकाले मन्त्रालय मातहतका कानुन परिमार्जन, संशोधन र पुनः निर्माण कार्यलाई तीव्रता दिएको बताए।
यसैबीच मन्त्री पाण्डेको सक्रियतामा हाल पर्यटन नीतिको नयाँ मस्यौदालाई अन्तिम चरणका लागि छलफल जारी रहेको छ।
उनले भने, ‘शासकीय स्वरूप परिवर्तन भएपनि पुरानै कानुन भएका कारणले मन्त्रालयका गतिविधिहरू प्रभावकारी बन्न सकेका छैनन्। तिनीहरूलाई व्यवस्थित र निर्देशित दिने काम नीतिले नै गर्ने गर्छ।पुराना ऐन संशोधनदेखि नयाँ ऐन निर्माणको क्रम अन्तिम चरणमा पुगेका छन्।’
उनले नीतिगत रूपमा कहाँ त्रुटि छन् त्यसको पहिचान गरी राजनीतिक दलको सक्रिय सहभागिता र सुझावका आधारमा अन्तिम रूप दिने काम भइरहेको बताए।
त्यसैगरी पर्यटन नीति २०८१ को मस्यौदा निर्माणमा सहभागिता जनाउँदै नेकपा एमालेका महासचिव शंकर पोखरेलले नीति बनाउँदा सैद्धान्तिक भन्दा पनि व्यवहारिक विषयमा ध्यान दिनु पर्नेमा जोड दिए।
उनले भने, ‘सैद्धान्तिक भन्दा पनि व्यवहारिक विषयमा ध्यान दिनुपर्छ। नेपालको भविष्य पर्यटन क्षेत्रमा छ, यो हाम्रोलागि अवसर पनि हो, जलवायु परिवर्तनको विषय पनि ऐनमा समेटिनुपर्छ।’
त्यस्तै पर्यटन नीतिको मस्यौदामा सहभागिता जनाउँदै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०६५ सालको पुरानो ऐनलाई प्रतिस्थापित गर्दै नयाँ बन्ने नीतिले सिमाङ्कनमा ध्यान दिनुपर्ने बताए।
उनले भने, ‘नीति निर्माणको क्रम निरन्तरता हुनुपर्छ। पुराना कानुको पुनरावलोकन हुनुपर्छ। नीति बनाउँदा सम्बन्धित अन्तर मन्त्रालयसँग समेत छलफल हुन जरुरी छ। पर्यटकीय क्षेत्रमा सरकारभन्दा बढी निजी क्षेत्र बढी सक्रिय र जिम्मेवार बन्न जरुरी छ।’
महामन्त्री थापाले पर्यटकीय क्षेत्रको विकासका लागि कति पर्यटक भित्रिएभन्दा पनि उनीहरूले नेपालमा बस्दा कुन क्षेत्रमा कति लगानी गरे, खर्च गरे भन्ने कुरा महत्त्वपूर्ण रहेको बताउँदै आन्तरिक पर्यटन प्रवर्द्धन गर्नु पर्नेमा समेत जोड दिए।
पर्यटन नीतिको मस्यौदामा मन्त्री पाण्डे,राष्ट्रिय योजना आयोगका सदस्य गङ्गादत्त अवस्थित,मन्त्रालयका सचिव गणेश पाण्डेय पर्यटन विभागका कार्यकारी निर्देशक सहसचिव डा.नारायण रेग्मी,पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशीसहित विज्ञ र जानकारहरूले सक्रिय सहभागिता जनाएका थिए।