नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शान्ति प्रक्रियालाई माओवादीलाई सिध्याउने हतियार बनाइएको बताएका छन्।
बुधवार ‘शान्ति प्रक्रिया र बेपत्ता नागरिक सार्वजनिक करणको सवाल’ कार्यक्रममा बोल्दै उनले राजनीतिक कारणले शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन कठिन भएको भन्दै नेकपा एमालेले टुङ्गिन लागेका बेला गएर रोक्ने गरेको आरोप लगाए।
उनले भने, ‘टुङ्ग्याउन कठिन भएको राजनीतिक कारणले नै हो। त्यहाँ कन्फ्युजन हुनुपर्ने कुरा केही पनि छैन। एउटा प्रवृत्ति नहोस् भन्ने नै छ। अझ गम्भीर प्रवृत्ति के छ भने माओवादीलाई तह लगाउने अन्तिम यही छ किन टुङ्ग्याउनु माओवादी सिद्ध्याएर मात्रै अनि के गर्नुपर्छ गरौँला भन्ने राजनीतिक सोच र प्रवृत्तिका मान्छे पनि छन्। यो कुरा आवेग पनि होइन, सेन्टिमेन्ट पनि होइन एउटा राजनीतिक नेतृत्व र प्रवृत्ति त्यस्तो छ। टुङ्गिन लागेका बेला गएर रोक्छ त्यसले। माओवादीलाई तह लगाउने सिध्याउने अन्तिम हतियार यही नै हो टुङ्ग्याउन हुन्न भन्ने सोच भएको प्रवृत्ति छ।’
त्यस्तै, पीडितहरू एकताबद्ध भएर राज्यलाई र राजनीतिक नेतृत्वलाई अब त नसोचे बर्बाद हुने भयो भन्ने ठाउँमा नपु¥याएसम्म अर्को १८ वर्ष सम्म शान्ति प्रक्रिया टुङ्गो नलाग्ने उनको भनाई छ।
उनले भने, ‘यसको समाधान पीडितहरूले बेलाबेलामा यो कुरा उठाई राख्नु, जरुरी पर्दा सडकमा पनि जाने तयारी गर्नु किनकि अन्तिममा सडक नै हुने हो कि जस्तो मलाई लागेको छ। यो विषय कानुनी भन्दा पनि बढी राजनैतिक नै छ। पीडितहरू एकताबद्ध भएर राज्यलाई र राजनीतिक नेतृत्वलाई अब त नसोच बर्बाद हुने भयो भन्ने ठाउँमा नपु¥याएसम्म यो अर्को १८ वर्ष जान नि बेर छैन।’