मधेस प्रदेशका आठ वटा जिल्लामा मङ्गलवार बिहान भूकम्पको धक्का महसुस गरिएको छ। 
रौतहट सहित बारा, पर्सा, सलाही , महोत्तरी , धनुषा , सिरहा र सप्तरी जिल्लामा मङ्गलवार बिहान ६ बजेर ५२ मिनेटमा  भूकम्पको धक्का महसुस भएको हो। 
भूकम्पको धक्का महसुस भएपछि यी जिल्लाका मानिसहरु घर बाहिर निस्केका थिए। केही बेरसम्म भूकम्पको कम्पन महसुस गरिएको चन्द्रनिगाहपुरका अशोक कोइरालाले बताए। 
उनका अनुसार भूकम्पको धक्का निकै समय सम्म भएपनि वरपर कहीँ कतै क्षति भएको छैन। यता भूकम्पको धक्का महसुस भएपछि बारामा १० विद्यार्थीहरू बेहोस भएका छन्।
कलैया उपमहानगरपालिका वडा नम्बर १ देवकोटास्थित त्रिचन्द्र माविका कक्षा ७ र ८ मा पढ्ने ११ जना विद्यार्थी बेहोस भएको प्रहरीले जनाएको छ। उनीहरूलाई प्रादेशिक अस्पतालमा उपचार गरिएको थियो। 
उनीहरू डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय बाराका एसपी महेन्द्र खड्काले जानकारी दिए। मधेस प्रदेशका अन्य जिल्लामा पनि भूकम्पको धक्का महसुस गरिएको भए पनि मानवीय क्षति नभएको प्रहरीको भनाइ छ। 
नेपालको उत्तर पूर्वी सीमानजिकै चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर भूकम्प गएको हो। भूकम्प मापनसम्बन्धी चीनको आधिकारिक निकाय चाइना अर्थक्वेक नेटवक्र्स सेन्टरका अनुसार ६.८ म्याग्निच्युडको भूकम्प गएको उल्लेख गरेको छ।