नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले कुनै पनि राजनीतिक दलहरू सङ्घीय व्यवस्थाप्रति उदार नरहेको बताएका छन्।
मङ्गलवार ‘सङ्घीयता सबलीकरणको कसीमा प्रदेशका सवालहरू’ विषयक छलफल कार्यक्रममा बोल्दै थापाले शासकीय जिम्मेवारी लिएका दलहरूले नै सङ्घीयताप्रति अनुदार रहेको बताएका हुन्।
उनले भने,‘हामीले जे शासकीय जिम्मेवारी लिन्छौ र लिएका छौँ, कोही पनि सङ्घीयताप्रति उदार छैनौ। एकदमै अनुदार छौ। यसमा रुचि छैन। मैले नयाँ दलहरू पनि हेरेँ, क्षेत्रीय दलहरू पनि हेरेँ। जसले बाहिर जे जे भने पनि भित्र सरकार चलाउने ठाउँमा कसैले पनि सर्त राख्दैनन्।’
उनले मधेस र माओवादी आन्दोलनको पनि निकै ठुलो महत्त्व रहेको बताए। उनले सङ्घीयताको विषयमा कांग्रेस एमालेमा बहस गर्नुपर्ने पनि बताए।
उनले भने,‘सङ्घीयताको विषयमा बहस छलफल कि मधेस आन्दोलन, कि त माओवादी आन्दोलनसँग जोडेर बहस गर्छौँ। दुवै आन्दोलनको महत्त्व ठुलो छ। तर अलिक फरक रूपमा पनि हेर्नुपर्छ। केन्द्रमा मात्र सबै अधिकार यस्तै हुन्छ भनेर बुझ्नपर्छ। शासकीय बिजनेसमा यसलाई बदल्न सक्नुपर्छ। सबै राजनीतिक पार्टीको घोषण पत्रमा सङ्घीयताप्रति कमिटमेन्ट छ। यो संस्थागत कमिटमेन्ट हो।’
कार्यक्रममा नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले संविधान कार्यान्वयनको विषय धेरै चुनौती र पेचिलो रहेको बताए।
उनले भने,‘ संविधान रचना कालमा जति अथक पहल, प्रयत्न, पैरवी भयो अब कार्यान्वयन गर्ने पाटोमा सक्रिय रहनुपर्छ। यसको मर्म अनुसार कार्यान्वयन त्यतिकै उन्न स्तर र हार्दिकताको जिम्मेवारी बोधका साथ समझदारीका साथ जान सक्नुपर्दथ्यो। त्यहाँनेर ल्याकिङ भयो। कार्यान्वयनमा चुनौती र पेचिलो छ।’