आज श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग र सामाजिक सुरक्षा कोषबीच एक सम्झौतामा हस्ताक्षर भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाको उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर भएको हो। 
उक्त सम्झौताको उद्देश्य एक अर्कालाई आवश्यक पर्ने सूचना तथा तथ्याङ्कको माध्यमबाट आदानप्रदान गरी श्रम सम्बन्धी कानुनहरूको परिपालनाको साथै सामाजिक सुरक्षाको सुनिश्चितता गराउनु रहेको छ। 
विज्ञप्तिमा लेखिएको छ,‘श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रम प्रशासनलाई चुस्त, दुरुस्त र छिटो छरितो तरिकाले अनलाइन माध्यमबाट सेवा प्रवाह गर्न श्रम सम्बन्धी एकीकृत सफ्टवेयर एकीकृत श्रम व्यवस्थापन सूचना प्रणाली (Integrated Labour Management Information System–ILMIS) र सामाजिक सुरक्षा कोषका Online System – SoSYS का सूचना तथा तथ्याङ्कहरू स्वचालित प्रणालीबाट नै आदान प्रदान हुने व्यवस्था गरिने कुराहरू सम्झौताको प्रावधानहरूमा उल्लेख छ।’
यस समझदारीबाट दुवै निकायहरूको श्रम सम्बन्धमा गुणात्मक सुधार भई उद्योग व्यवसायको विकास र विस्तारमा समेत टेवा पुर्‍याउने विश्वास लिइएको विज्ञप्तिमा उल्लेख छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको बैठक कक्षमा आयोजित सम्झौतामा विभागको तर्फबाट उपमहानिर्देशक विपिन राजभण्डारी र कोषको तर्फबाट कार्यकारी निर्देशक कविराज अधिकारीले हस्ताक्षर गरेका हुन्। 
कार्यक्रममा मन्त्रालयका सचिवले यस प्रकारको प्रभावकारी व्यवस्थापनबाट श्रमिकका हकहित र संरक्षण भई थप सुरक्षित, मर्यादित र व्यवस्थित गर्न सहयोग हुने भएको मन्त्रालय र मातहतका अन्य निकायबीच पनि यसै प्रकारको समन्वय र सहकार्य गर्दै जानुपर्ने विचार व्यक्त गरे। उक्त कार्यक्रममा मन्त्रालयका सबै महाशाखा प्रमुखहरू, आईएलओ प्रतिनिधिलगायतका उच्च पदस्थ कर्मचारीहरूको सहभागिता रहेको थियो।