समर निरौलाको डेब्यु निर्देशकिय सिनेमा ‘ममी’को पहिलो गीत सार्वजनिक गरिएको छ। एसडी योगीको सङ्गीत रहेको ‘म त यसै नक्कली’ बोलको गीतमा हर्क साउदको शब्द रचना तथा रिकेश गुरुङले एरेञ्ज गरेका हुन्।
समीक्षा अधिकारी र विज्ञानी पराजुलीको स्वर रहेको गीतको भिडियोमा सिनेमाका दुई मुख्य अभिनेत्री प्रिंयका कार्की र दिया मास्के फिचर्ड छन्। विक्रम स्वाँरको कोरियोग्राफी रहेको गीतमा निशाल पौडेलको छायाङ्कन र टेकेन्द्र शाहको सम्पादन रहेको छ।
हरर फ्यामिली ड्रामा ‘ममी’ले परिवारको प्रिय कुकुरको दुखद निधन पश्चात् छोरीले घरमा कालो बिरालो पाल्न थालेपछि सिलसिलेवार ढङ्गले परिवारमा निम्तिने काला विपत्तिको शृङ्खला र त्यसले विगठन उन्मुख हुन थालेको परिवारको कथा पेस गर्छ।
माघ २५ गते रिलिज हुने सिनेमामा प्रियंका कार्की, दिया मास्के, सुलक्षण भारतीको मुख्य भूमिका रहेको छ। सिनेमामा उनीहरूका अलावा समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गीत विष्टलगायतका कलाकारहरूको अभिनय रहेको छ।
सो ट्वान्टी फाइभको प्रस्तुतिमा निर्माण भएको सिनेमामा समर निरौला र पूर्णिमा जोशीको लेखन रहेको छ। सिनेमाका निर्माता लोक राज जोशी तथा पूर्णिमा जोशी हुन भने कार्यकारी निर्मातामा सुमन कोइराला रहेका छन्।
‘ममी’को छायाङ्कन निशान पौडेल र शरद महतोले संयुक्त रूपमा गरेका हुन् भने सम्पादन सुरेन महर्जनको रहेको छ। यसैगरी पाश्र्व ध्वनीमा रोहित शाक्य, साउन्ड डिजाइनमा श्रवल आरपी, रङ्ग संयोजनमा दिपेश चौधरी तथा सङ्गीतकारमा एसडी योगी रहेका छन्।
सिनेमालाई काठमाडौँ उपत्यकामा काफिया फिल्मस् र मोफसलमा कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दै छन्।