इ–नेवल नेपालले अमेरिकन प्रविधिद्वारा निर्माण भएको कृत्रिम हात वितरण गरेको छ। जन्मजात हात नभएका तथा विभिन्न दुर्घटनामा परि हात गुमाएका व्यक्तिहरूको सहजताका लागि संस्थाले निःशुल्क हात प्रदान गरेको हो। 
नेपाल सरकारका पूर्व सचिव भीम उपाध्यायको विशेष उपस्थितिमा संस्थाले आज एक कार्यक्रमकाबीच १० जना हत्केला नभएका मानिसहरूलाई प्राविधिकहरूको सहयोगमा कृत्रिम हात प्रदान गरेको हो। 
कार्यक्रममा बोल्दै पूर्व सचिव उपाध्यायले इ–नेवल नेपालले हात नभएका मानिसहरूका लागि एकदमै ठुलो सहयोग गरेको बताए। सामाजिक सञ्जालको माध्यमबाट आफूले पनि धेरै अपाङ्ग व्यक्तिहरूलाई सहयोग गरिसकेकोले समस्यामा परेकाहरूले आफूलाई नै गुहार्ने गरेको हुँदा कतिपय मानिसहरूलाई इ–नेवल नेपालमा सम्पर्क गर्न आग्रह गर्ने गरेको उनले बताए।  
साथै आगामी दिनहरूमा पनि यस्तो पुण्यको कार्यलाई निरन्तरता दिँदै जान आग्रह गर्दै उनले संस्थालाई आफ्नोतर्फबाट गर्नुपर्ने साथ र सहयोग निरन्तर गर्दै जाने प्रतिबद्धता समेत जनाए। 
इ–नेवल नेपालका अध्यक्ष सुरेन्द्र श्रेष्ठले संस्थाले यसभन्दा अघि १६ वर्षभन्दा मुनिका बालबालिकाहरूलाई कृत्रिम हात प्रदान गर्दै आएकोमा अहिले सबै उमेर समूहलाई हुनेगरिको निःशुल्क हात प्रदान गरेको जानकारी दिए।
साथै आगामी दिनमा सबैको साथ र सहयोग पाएमा यसलाई परिस्कृत गर्दै अझ राम्रा हातहरु निर्माण गर्ने तथा कृत्रिम खुट्टाहरू पनि बनाएर वितरण गर्ने प्रतिबद्धता जनाए। 
त्यस्तै, संस्थाका महासचिव दिनेश राज भण्डारीले संस्थाको बारेमा जानकारी दिँदै संस्थाले करिब ३ सय भन्दा बढी बालबालिकाहरूलाई निःशुल्क हात वितरण गरिसकेको जानकारी दिए। 
अमेरिकन प्रविधिबाट निर्माण भएको हात वयस्क व्यक्तिहरूलाई पहिलो पटक प्रदान गरिएको बताउँदै उनले उक्त कृत्रिम हातबाट काम गर्न मिल्ने तथा बाइक, स्कुटर, साइकल समेत चलाउन मिल्ने जानकारी दिए। 
त्यस्तै, कार्यक्रममा युरो किड्सका अध्यक्ष नवराज काफ्लेले आफूलाई पनि इ–नेवल नेपालसँग सहकार्यगरि सामाजिक कार्यमा जोडिन इच्छा भएको बताए। 
उनले आफ्ना विद्यालयका बालबालिकाहरूलाई पनि सामाजिक कार्यमा जोड्नका लागि विद्यार्थीहरूको जन्मदिनमा हुने खर्चको थोरै रकम सङ्कलन गरी ‘वर्थडे फन्ड’ बनाएर त्यस रकमबाट हात नभएका बालबालिकाहरूलाई कृत्रिम हात प्रदान गर्न सहयोग गर्ने प्रतिबद्धता जनाए। 
इ–नेवल नेपालका उपाध्यक्ष हेमन्त गौतमले संस्थाले भावी दिनहरूमा पनि अपाङ्ग व्यक्तिहरूको पहिचान गरी निरन्तर सहयोग गर्ने बताए। साथै हात नभएका व्यक्तिहरूले संस्थामा सम्पर्क गरी आफ्नो परिचय खुलाई कृत्रिम हात लैजानका लागि समेत उनले आग्रह गरे। 
नेपालका विभिन्न जिल्लाहरूबाट आएका अपाङ्ग व्यक्तिहरू कृत्रिम हात पाएपछि दङ्ग देखिन्थे। लामो समयदेखि हात नहुँदा समस्या भोगेकाहरू इ–नेवलले प्रदान गरेको हात पाउँदा र यी हातबाट सबै कामहरू गर्न मिल्ने हुनाले पनि खुसी देखिन्थे। 
कार्यक्रमको अन्त्यमा संस्थाका प्राविधिकहरूले कृत्रिम हात प्रयोगको तरिका र त्यसको महत्वको बारेमा जानकारी दिएका थिए।