बैतडीमा १५ वर्षीया किशोरीले जुम्ल्याहा सन्तान जन्माएकी छिन्। जिल्लाको पाटन नगरपालिका–९ किचार बस्ने दिपा लावडले १५ वर्षकै उमेरमा डडेल्धुरा अस्पतालमा दुई जुम्ल्याहा छोरालाई जन्म दिएकी हुन्।
१४ वर्षको उमेरमा बाल विवाह गरेकी दिपाले कलिलो उमेरमै बच्चा पाएकी हुन्। उनका श्रीमान् १८ वर्षका छन्।
पढ्ने तथा खेल्ने उमेरमै दिपा लावडले अब बच्चा हुर्काउने भएकी छन्। तर आर्थिक अवस्था कमजोर भएका कारण जुम्ल्याहा सन्तान कसरी हुर्काउने भनेर दिपा लावडमा कलिलो उमेरमै चिन्ता थपिएको छ।
काठमाडौँ महानगरपालिका–१४ कलङ्की घर भएका समाजसेवी सहदेव प्रसाद सापकोटाले लावडको परिवारलाई न्यानो लुगा, खाद्यान्नका सामाग्री र नगद १० हजार रुपैयाँ सहयोग गरेका छन्।
सङ्गम पब्लिकेशनका प्रबन्ध निर्देशक समेत रहेका सापकोटाले सुदूरपश्चिमका दर्जनौँ परिवारलाई सहयोग उपलब्ध गराइसकेका छन्।
पाटन नगरपालिका–९ का सामुदायिक मनोसामाजिक कार्यकर्ता लक्ष्मी विष्ट, वडा नं ८ का मनोसामाजिक कार्यकर्ता भुवी विष्ट र जिल्ला अस्पताल बैतडीको एकद्धार सङ्कट व्यवस्थापन केन्द्रका मामला व्यवस्थापक माया भट्ट सहितको टोलीले सो रकमसहित न्यानो लुगा र खाद्यान्नको सामान शनिवार दिपाको घरमै पुगेर हस्तान्तरण गरेका हुन्। यसअघि पनि सापकोटा आफूले सहयोग उपलब्ध गराएको परिवारको अवस्था बुझ्न बैतडी पुगेका थिए।