नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सङ्घीय निजामती विधेयकमा ट्रेड युनियनको विषय ठुलो विषय नभएको बताएका छन्।
आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले यति सानो विषयलाई ठुलो बनाएर अन्य विषयलाई ओझेलमा पार्ने प्रयास ट्रेड युनियनका नेताहरूबाट भएको भन्दै आक्रोश व्यक्त गरे।
उनले भने, ‘सङ्घीय निजामती विधेयकभित्रको ट्रेड युनियनको विषय भनेको निकै सानो विषय हो। तर यसलाई सबैभन्दा ठुलो विषय बनाएर अन्य विषयलाई ओझेलमा पार्ने प्रयास अहिलेका ट्रेड युनियनका साथीहरूले गरिरहनु भएको छ। यो ठिक भएन। ट्रेड युनियनको कानुन र अधिकारको कुरालाई यति धेरै बलशाली तरिकाले उठाउनुपर्ने अवस्था थिएन। यो विषय सांसदहरूको तर्फबाट उठेको होइन, ट्रेड युनियनको आन्दोलनमा लागेका साथीहरूका तर्फबाट बढी उठेको हो यसरी उठ्नुपर्ने कुनै आधार देख्दिन।’
यसको साथै, उनले संसदमा वा संसदीय समितिमा सांसदहरुले उठाएका विषयमा अदालतले पनि प्रश्न उठाउन नमिल्ने भन्दै ठुलो ट्रेड युनियनको रुपमा रहेको युनियनका अध्यक्षले धम्कीपूर्ण रुपमा विज्ञप्ति निकाल्नु गलत भएको बताए।
उनले भने, ‘संसदमा वा संसदीय समितिमा सांसदहरुले उठाएका विषय अदालतको पनि मसला बन्न सक्दैन। अदालतमा पनि प्रश्न उठाउन पाइदैँन । तर बोलेर बाहिर नआउँदै मिडियाको हेडलाइनलाई आधार बनाएर नेपालको सबैभन्दा ठुलो ट्रेड युनियनको रुपमा रहेको युनियनको अध्यक्षले हस्ताक्षर गरेर जे विज्ञप्ति निकाल्नुभयो त्यो धम्कीपूर्ण रुपमा थियो। त्यो गलत कुरा हो। सांसदले बोलेको कुरालाई केन्द्रित गरेर विज्ञाप्ति निकाल्ने र चेतावनी दिने कुरा बेठिक हो।’
सरकारले महत्त्व दिएर अगाडि बढाएको विधेयकमाथि यस्तो प्रश्न उठ्नु राम्रो नभएको भन्दै राम्रो काम गर्न खोज्दा पनि गलत भएको उनको भनाई छ।
सरकारको नेतृत्व गरिरहेको एमाले, सत्तारुढ कांग्रेस, प्रमुख प्रतिपक्षी माओवादी केन्द्र र मधेस केन्द्रित राजनीतिक दलका भातृ सङ्गठनका रूपमा रहेका कर्मचारी ट्रेड युनियनका अध्यक्षहरूले शुक्रवार विज्ञप्ति जारी गरेर संसदीय समितिमा धारणा राख्ने दलका प्रमुख सचेतक र सचेतकहरूलाई चेतावनी दिएका थिए।