रामेछापको सदरमुकाम मन्थली बजारको ढलको दिसा पिसाब मानव बस्ती नजिक खुल्ला छाड्दा स्थानीयलाई समस्या भएको छ। 
मन्थली बजारको ढल व्यवस्थापनका लागि बनाइएको प्लान्ट बिग्रिँदा प्लान्टमा गएको दिसा पिसाब खुल्ला रूपमा नै बस्तीको छेउमा बगेको कारण दुर्गन्ध फैलिएको स्थानीयले गुनासो गरेका छन्। 
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको बजेटबाट स्थानीय उपभोक्ता समितिमार्फत मन्थलीको ढल निर्माणको काम भएको थियो।
मन्थली बजारको सङ्कलित ढल विद्युत् कार्यालय मुनि रण जोर खोला किनारमा जग्गा खरिद गरी सेफ्टिट्याङ्कीको प्लान्ट निर्माण गरेर ढल व्यवस्थापनको काम गरिएको थियो। 
अहिले ढलको फोहोर जम्मा हुने सेफ्टीट्याङ्कहरू जाम भएका छन्। त्यसैले ढलबाट सेफ्टीट्याङ्कीमा जानुपर्ने दिसा पिसाब सहितको फोहोर पानी बाहिर त्यतिकै बगिरहेको छ। 
सो स्थानमा नजिकै बस्ती छ। जसको दुर्गन्धले बस्तीमा बस्नै नहुने अवस्था भएको स्थानीयको गुनासो छ। समस्याको बारेमा सबैतिर भनेको भए पनि कसैले चासो नदिएको स्थानीय डेकबहादुर श्रेष्ठ बताउँछन्। दुर्गन्धले गर्दा बस्ती र खोला किनारमा हिँड्न समेत असजिलो भएको उनले बताए। 
सो ढल निर्माणको विषयलाई लिएर उपभोक्ता समितिलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा परेको कारण उपभोक्ता समितिले पनि काम नहेर्ने र अन्य निकायले पनि वास्ता नगर्ने गरेको कारण आफूहरू समस्या परेको स्थानीयको गुनासो छ। 
गएको असार महिनादेखि दिसा पिसाब सबै बाहिर छरिएको छ। यदि सरोकारवाला निकायले ध्यान नदिने हो भने आफूहरू ढल नै थुनिदिन बाध्य हुने स्थानीयले बताए। ढल व्यवस्थापनको काम अव्यवस्थित हुँदा जताततै फोहोर फैलिएको छ। यसलाई व्यवस्थापन नगर्ने हो भने ठुलो रोग निम्त्याउने जोखिम छ।