विराटनगर। निजी तथा आवासीय विद्यालय सङ्गठन प्यावसन मोरङको १६ औँ जिल्ला अधिवेशन अन्तर्गत आज (शुक्रवार) नेतृत्वका लागि निर्वाचन हुँदै छ।
जिल्ला अध्यक्षका लागि बेलबारीका जगतबहादुर बस्नेत र उर्लाबारीका सुरेन्द्र सुवेदी चुनावी मैदानमा रहेका छन्। सुवेदी यसअघि जिल्ला उपाध्यक्ष हुन् भने बस्नेत सचिव हुन्। दुवै जना अध्यक्षमा आकाङ्क्षी भए पनि समग्र जिल्लाका प्यावसन सदस्यहरूको मत भने बस्नेतलाई जाने देखिन्छ। दुवै जना नेतृत्वका लागि अब्बल भए पनि बस्नेतको सक्रियता र नेतृत्व क्षमताका कारण बस्नेतलाई रुचाउनेको सङ्ख्या बढी देखिन्छ।
को हुन् त जगतबहादुर बस्नेत ?
मोरङ प्यावसनमा ४ कार्यकाल सदस्य, एक कार्यकाल कोषाध्यक्ष,  एक कार्यकाल सचिव र २ कार्यकाल सह कोषाध्यक्ष भएका बस्नेत बेलबारी नगरपालिका निवासी हुन्। लामो समयदेखि शिक्षा र सहकारी क्षेत्रमा योगदान गरेका बस्नेतले बेलबारी नगरपालिकामा (क) वर्गको विद्यालय समेत सञ्चालन गर्दै आएका छन्। उनी सोही विद्यालयका संस्थापक प्रिन्सिपल समेत हुन्।
बेलबारी नगरपालिकाको नगर शिक्षा समितिका सदस्य समेत रहेका बस्नेत बेलबारीमा बौद्धिक व्यक्तित्वका रूपमा परिचित रहेका छन्। उनी लामो समयदेखि शिक्षा क्षेत्रमा अनवरत क्रियाशील छन्। प्यावसनको विभिन्न तहमा रहँदा उनले खेलेको भूमिका जिल्लाभरका प्यावसन सदस्य विद्यालयहरूले भुलेका छैनन्।
हरेक दृष्टिकोणले नेतृत्व गर्न सक्ने क्षमता भएका बस्नेतको पल्ला भारी रहेको प्यावसनका सदस्यहरू बताउँछन्।बस्नेतको पक्षमा मोरङ जिल्ला प्यावसनका पूर्व अध्यक्षहरूको समर्थन रहेको छ।