तमु ल्होसारको अवसर पारेर कलाकार बुद्धि तामाङको निर्माण रहने फिल्म ‘कुस्ती’ घोषणा गरिएको छ। अनिल योञ्जनको लेखन तथा निर्देशनमा तयार हुने फिल्मको सार्वजनिक पोस्टरमा धिरज मगर र मिरुना मगर फिचर्ड छन्। यस पटक पोस्टरमा लाइट ग्रिन र लाइट पिङकको प्रयोग गरिएको छ। 
पोस्टरमा धिरज मगरले लाइट पिङ्क ड्रेस लगाएका छन् भने मिरुना मगरले लाइट ग्रिन ड्रेसमा देखिएका छन्। धिरजको स्वभाव लाइट पिङ्क जस्तै छ। उ जेन्टल छ, केयरिङ छ, रोमान्टिक छ र सफ्ट छ। यस्तै, मिरुना लाइट ग्रिन कलर झैँ प्रगतिशील सम्बन्ध जोड्ने, हरेक कुरामा पर्फेक्ट खोज्ने स्वभावकी छिन्। फिल्ममा धिरज र मिरुनासँगै बुद्धि तामाङको पनि अभिनय रहने छ। 
अनुषा सिनेमावुड पिक्चर्स प्रालीको ब्यानरमा बन्ने फिल्म ‘कुस्ती’ मा सम्बन्धमा रहेको एक जोडीको प्रेम कथा देखाइने निर्देशक योञ्जनले बताए। 
उनले भने,‘उनीहरू एक अर्कालाई धेरै माया गर्छन् तर आ–आफ्नो स्वभावले गर्दा एकसाथ रहन कठिनाईको सामना गरिरहेका छन्। दर्शकले यो जोडीबाट गर्ने अपेक्षालाई पूर्ण गर्ने हाम्रो प्रयास रहनेछ।’
कलाकार बुद्धि तामाङले कथावस्तु र टिमका कारण आफू निर्माणमा आएको बताए। उनले भने,‘म यसै क्षेत्रमा छु। यस पटक कथावस्तु मन पर्नुका साथै टिम अनुभवी रहेकाले निर्माताको रुपमा अगाडि आएको छु। यस पटक सबैको साथ र सहयोगले यो यात्रा सफल हुनेमा विश्वस्त छु। हामी फिल्मको विषयमा अन्य जानकारी र टिमको परिचय विस्तारै दिनेछौँ।’ 
उनले छुटिन नसक्ने र सँगै रहन पनि नसक्ने जोडीको प्रेम कथा हो ‘कुस्ती’ रहेको बताए। काठमाडौँ रीच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्ट, मोफसल एफडी कम्पनीले प्रदर्शनका लागि वितरण गर्ने फिल्म आउँदो वर्ष वि.सं. २०८२ को भाद्रमा प्रदर्शन हुनेछ। पोस्टरमा उमङ्ग शाहीको फोटोग्राफी र राकेश दाहालको पोस्टर डिजाइन रहेको छ।