मकवानपुरको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्ध महिलाको ज्यान गएको छ।
मनहरी–५ वसन्तपुर गुम्बा टोलमा बाघको आक्रमणबाट धनबहादुर रूम्बाकी श्रीमती ७२ वर्षीया कान्छीमाया रुम्बाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।
रूम्बालाई आइतबार साँझ ५ बजेतिर घर नजिकैको खोल्सामा बाघले आक्रमण गरेको हो। यति बेला वसन्तपुर गाउँ त्रसित बनेको छ।
मृतक रूम्बा घरनजिकै बारीमा घाँस काट्न गएकोमा अबेरसम्म नफर्किएपछि खोजी गरिएको थियो। आफन्तले खोजी गर्दै जाने क्रममा घरबाट करिब पाँच सय मिटर पूर्व शरीरमा चोट लागेको अवस्थामा मृत फेला परेको प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिए। घटनाबारे प्रहरीलाई राति करिब १० बजे मात्रै खबर भएको घटनास्थलमा अनुसन्धानका लागि खटिएका सापकोटाले बताए।
मनहरीमा–४ महिनाअघि भैँसीले हानेर बाघ मरेको थियो। गत ५ भदौमा मनहरी गाउँपालिका–६ प्रतापुरका बलबहादुर राईको गोठमा बाँधेको भैँसीलाई आक्रमण गर्ने क्रममा उल्टै भैँसीले प्रतिकार गर्दा बाघ मरेको प्रहरीको घटना मुचुल्का र चितवन राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीको रिपोर्टले दाबी गरेको थियो। निकुञ्जले बुढो र घाइते भएकाले बाघलाई भैँसीको प्रहारले मृत्युको मुखमा पुर्याएको जनाएको थियो।
चितवन राष्ट्रिय निकुञ्जको पूर्वी क्षेत्र मध्यवर्ती वनसँग मनहरी जोडिएकाले यहाँ हरेक वर्ष वन्यजन्तुको आक्रमणले जनधनको क्षति हुँदै आएको छ।
स्थानीयले वन्यजन्तुको जोखिम न्यूनीकरणका लागि तारबार लगाएर बस्ती क्षेत्रको संरक्षणको माग गर्दै आए पनि राज्यले ध्यान दिएको छैन। मनहरीको पश्चिम क्षेत्रमा पटक–पटक हात्तीले पनि क्षति गर्ने गरेको छ।
मनहरी गाउँपालिकाको हेटौँडा उपमहानगरसँग सीमा जोडिएको पूर्वी क्षेत्र पर्सा राष्ट्रिय निकुञ्जसँग पनि जोडिएको छ। पर्सा निकुञ्जबाट आएका वन्यजन्तुले पनि मनहरी–१ देखि ४ नम्बर वडा र हेटौँडाको १२,१३,१४ नम्बर वडामा आतङ्क मच्चाउँदै आएका छन्।