नेपालमा शिक्षा, स्वास्थ्य तथा आपत्कालीन मानवीय सहायताको क्षेत्रमा काम गर्दै आइरहेको कल्याणकारी संस्था, हेल्प नेपाल नेटवर्कमा अस्ट्रेलिया निवासी व्यवसायी तथा समाजसेवी डिला खरेललाई संस्थाको ग्लोबल कोअर्डीनेटर (विश्व संयोजक) चयन भएका छन्।
आफ्नो स्थापनाको २५ औँ वार्षिकोत्सवको अवसरमा खरेललाई ग्लोबल संयोजक चयन गरिएको हो। भेलाले अस्ट्रेलिया निवासी वैज्ञानिक डा.राजु अधिकारीको संयोजकत्वमा इन्द्रा बन (अस्ट्रेलिया), हर्ष गौतम (अस्ट्रेलिया), प्रणय राज आचार्य (स्विडेन) तथा लक्ष्मण शर्मा रहेको एक सल्लाहकार समिति पनि गठन गरेको छ । त्यस्तै इ रोशेन्द्र ध्वज खड्कालाई प्रोजेक्ट कोअर्डीनेटर चयन गरिएको छ।
सन् १९९९ मा बेलायतमा स्थापित नेटवर्कका झन्डै एक दर्जन मुलुकमा शाखाहरू रहेका छन् भने नेपालमा केन्द्रीय कार्यालय रहेको छ। ‘मातृभूमिका लागि महिनामा एक पाउण्ड’ भन्ने नारासहित सन् १९९९ मा बेलायतबाट हेल्प नेपाल नेटवर्क स्थापना गरिएको थियो।
नेटवर्कले नेपालका एक सय बढी स्कुलहरूमा कक्षा कोठा निर्माण तथा झन्डै ५० ओटा इ–लाइब्रेरी स्थापना गर्नुका साथै सिन्धुपाल्चोक, दोलखा लगायतका जिल्लाहरूमा भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवनहरूको पुनर्निर्माणमा पनि सघाएको छ।
नेटवर्कले सन् २००४ मा विकट मुगु जिल्लाको मुर्मामा स्थापना गरेको हेल्प नेपाल हेल्थ पोष्टले स्थानीय समुदाय तथा पदयात्रीहरूलाई गएको २० वर्षदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ।
त्यस्तै सन् २०१४ देखि धुलिखेलमा सञ्चालित हेल्प नेपाल बाल गृहमा २३ जना असहाय बालिका बसेर पठनपाठन गरिरहेका छन्।
सन् २०१५ को महाभूकम्प, जाजरकोट भूकम्प तथा देशका विभिन्न स्थानमा बाढी, पहिरो तथा आगलागी पीडितहरूलाई पनि नेटवर्कले मानवीय सहायता पुर्याउँदै आएको छ।