कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले जिल्ला प्रहरी कार्यालय झापा तथा प्रदेश विपद् व्यवस्थापन कार्यालय चन्द्रगढीको निरीक्षण भ्रमण गर्नु भएको छ।
पुस १० गते निरीक्षण भ्रमणको क्रममा वहाँले जिल्ला प्रहरी कार्यालय झापामा रहेका विभिन्न शाखाहरू लगायत हिरासत कक्ष तथा विपद् व्यवस्थापन कार्यालयको निरीक्षण पश्चात् जिल्ला प्रहरी कार्यालय झापा तथा मातहत इकाई प्रमुखहरू सहित कार्यरत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरूलाई आवश्यक निर्देशन समेत दिनु भएको हो।
निर्देशनको क्रममा वहाँले सुरक्षा सदैव संवेदनशील विषय भएकोले आफूलाई सुम्पिएको जिम्मेवारी चुस्त दुरुस्त अवस्थामा अनुशासित तवरले विश्राम नलिई आफ्नो पदीय दायित्व निर्वाह गर्न र समाजलाई जीवन्त राख्न ईमान्दारीताका साथ प्रहरी सेवा प्रदान गर्न निर्देशन दिनु भएको छ।

वहाँले प्रहरीको दैनिक काम कारबाहीलाई चुस्त, दुरुस्त बनाई अभिलेखीकरण गर्दै लैजान तथा आ-आफ्नो जिम्मेवार एरिया इलाकाहरूमा प्रहरी परिचालन गरी शान्ति सुरक्षा, अपराध नियन्त्रण, पेण्डिङ्ग मुद्दाको सफल अनुसन्धान गर्न र धेरै क्षेत्रफल खुल्ला सीमा रहेको झापा जिल्लामा सीमा क्षेत्रबाट हुने अवैध चोरी निकासी नियन्त्रण, लागु औषध ओसार पसार नियन्त्रण, जङ्गली हात्तीको आतङ्कमा स्थानियबासीहरुसंग समन्वय गरी सुरक्षा व्यवस्थालाई मजवुद बनाउन तथा आर्थिक प्रलोभनमा नपरी शून्य सहनशीलतामा रही व्यावसायिक प्रहरीको भूमिका निर्वाह गर्न निर्देशन दिनु भएको छ। निरीक्षण भ्रमणको क्रममा पाल्नु भएका प्रदेश प्रहरी प्रमुख अधिकारीले झापा जिल्लामा उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत समेत गर्नु भएको थियो।
निरीक्षण भ्रमणको क्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक मिलन के.सी.ले प्रदेश प्रहरी प्रमुख अधिकारीलाई झापा जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था, जनशक्ति व्यवस्थापन, भावी कार्य योजना, सुरक्षा चुनौतीहरू र प्रदेश प्रहरी कार्यालय सँगको अपेक्षा सहितको प्रस्तुतीकरण गर्नु भएको थियो।