मिथिला नगरपालिका ३ मा एक महिलाको हत्या गरी गाडिएको अवस्थामा बुधवार राती शव फेला परेको छ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार मिथिला नगरपालिका वडा नं.३ हरिहरपुर मुसहरीटोलमा दशैया मुखिया बिनको अन्दाजी ५० वर्षीया श्रीमती रेशमी देवी मुखिया बिनको हत्या भएको अवस्थामा शव फेला परेको हो।
उनको शव आफ्नै घरको शौचालयको पछाडि गाडिएको अवस्थामा फेला परेको हो। मङ्गलवारदेखि हराइ रहेकी रेशमी देवीलाई खोज तलास गर्ने क्रममा शव फेला परेको जनाइएको छ।
घटना स्थलबाट शव निकाली पोष्ट मार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको इप्रका महेन्द्रनगरले जनाएको छ।
रेशमीलाई उनकै श्रीमान् दशैया मुखियाले हत्या गरेर गाडेको आशङ्का गरिएको छ भने अनुसन्धानको लागि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ।
घटनाको एक दिन पहिला पनि दुवै जनाको झगडा भएको उनको बुहारीको भनाई छ। घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।