देशभर सामाजिक सङ्घसंस्थाहरूमा राजनीतिक दलहरूको प्रभाव र दलीय प्रतिनिधित्व बढ्दै गएको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भरतपुर–१२ ले भने यस्ता अभ्यासलाई गलत र विकृति भएको भन्दै त्यसो नगर्न आग्रह गरेको छ।भरतपुर–१२ मा रहेको राम बेल सामुदायिक बनमा राजनीतिक भागबन्डाका आधारमा नयाँ कार्यसमिति चयन गर्न लागिएको भन्दै रास्वपाका वडा सभापति दीपक राज सेढाईंले साधारण सभामा विज्ञप्ति हस्तान्तरण गर्दै पार्टीको धारणा स्पष्ट पारेका थिए।
विज्ञप्तिमा भनिएको छ,‘सामाजिक सङ्घ–संस्थाहरूलाई राजनीतिक दलको दबाबभन्दा बाहिर रहनुपर्छ, ताकि ती संस्थाहरू निष्पक्ष रूपमा समुदायको प्रतिनिधित्व गर्न सकुन्। सामाजिक संस्था रूपी मन्दिरमा राजनीतिक पार्टीको चप्पल बाहिरै राख्नुपर्छ।’
साथै, पार्टीले आफ्ना सदस्यहरूले व्यक्तिगत स्वतन्त्रताको प्रयोग गर्दै यस्ता संस्थाहरूमा सहभागी हुन पाउनेमा भने रास्वपा स्पष्ट रहेको बताइएको छ। विज्ञप्तिमा सामाजिक र सार्वजनिक संस्थाहरूको संरक्षण तथा उचित व्यवस्थापनका लागि सधैँ तत्पर रहने कुरा पनि उल्लेख छ।
रास्वपा चितवनका सचिव विशाल कोइरालाले आफ्नो पार्टीले कुनै पनि सामाजिक, सार्वजनिक, वा सामुदायिक सङ्घ–संस्थाहरूमा राजनीतिक दलको हिसाबले प्रतिनिधित्व नगर्ने विधानमै व्यवस्था रहेको बताए। उनले भने,‘यस्ता पवित्र संस्थामा राजनीतिक दलहरूको प्रतिनिधित्व हुँदा विकृति निम्तिन्छ। वडा समितिको विज्ञप्ति पनि सोही भावना अनुसार आएको हो।’
Photo (1) 55