नेपाल प्रहरीका दुई सहायक हवलदार र जवानसहित ३० जना प्रहरी दुई महिनाभन्दा बढी समयदेखि सम्पर्कविहीन भएका छन्।
प्रहरी प्रधान कार्यालयले असोजदेखि आफू खुसी गैरहाजिर रहेको र हेडक्वार्टरको सम्पर्कमा नरहेको प्रहरी कर्मचारीहरूको सूचि सार्वजनिक गर्दै ७ दिन भित्र हाजिर हुन आउन निर्देशन दिएको हो।
गैर हाजिर हुने सहायक हवलदारहरूमा कारागार सुरक्षा गार्ड घोराही दाङमा दरबन्दी भएका प्युठानको गौमुखी गाउँपालिका–३ का सुन्दर सेन र कारागार सुरक्षा गार्ड रामेछाप दरबन्दी रहेका ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका–५ का बुद्धिमान तामाङ छन्।
सेन असोज ३० गतेदेखि र तामाङ असोज १६ गतेदेखि सम्पर्कविहीन रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
बाँकी २८ जनामध्ये पाँच जना प्राविधिक प्रहरी जवान, २२ जना प्रहरी जवान र एक जना कार्यालय सहयोगी छन्।
आफू गैर हाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफ सहित सात दिनभित्र उपस्थित नभए ती प्रहरी कर्मचारीहरूलाई प्रहरी नियमावलीको नियम १०९ को देहाय (ख) १ बमोजिम सेवाबाट हटाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ।
