कजाकिस्तानमा बुधबार दुर्घटना भएको विमानमा सवार ६७ यात्रुमध्ये २५ जनाको जिवित्तै उद्धार गरिएको छ।
उद्धार गरिएकामध्ये २२ जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको कजाकिस्तानको आपत्कालीन मन्त्रालयले जनाएको छ।
अजरबैजानबाट ६७ यात्रु बोकेर दक्षिणी रुसका लागि उडेको यात्रुवाहक विमान बुधबार कजाकिस्तानको सहर अक्ताउनजिकै दुर्घटनाग्रस्त भएको थियो।
अजरबैजान एयरलाइन्सको उडान ‘जे२–८२४३’ नम्बरको विमान राजधानी बाकुबाट रूसी क्षेत्र चेचन्याको ग्रोज्नीका लागि उडेको थियो। अक्ताउबाट करिब तीन किलोमिटर (१.८ माइल) पर पुगेपछि विमानलाई आपत्कालीन अवतरण गरिएको थियो।
आपत्कालीन अवतरण गराउने क्रममा विमान दुर्घटनामा परेको थियो। उद्धार टोली घटनास्थलमा पुग्दा विमान आगो लागेको अवस्थामा भेटिएको कजाकिस्तानको आपत्कालीन मन्त्रालयले जनाएको छ।
विमानमा ६२ यात्रु र पाँचजना चालक दलका सदस्य रहेको कजाकिस्तानको यातायात मन्त्रालयले प्रारम्भिक रिपोर्टमा जनाएको छ।

प्रारम्भिक तथ्यांकअनुसार विमानमा रहेका यात्रुमध्ये ३७ जना अजरबैजानका, ६ जना कजाकिस्तानका, तीन किर्गिस्तानका र १६ जना रुसका नागरिक रहेको बताइएको छ।