तेन्जिङ नोर्गे शेर्पा ओपन क्लाइमिङ कम्पिटिशन (खुल्ला आरोहण प्रतियोगिता) को दोस्रो संस्करण आयोजना हुने भएको छ।
बुधवार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै पहिलो संस्करण सफल भएपछि दोस्रो संस्करण आयोजना हुन लागेको जानकारी दिएका छन्।
उक्त प्रतियोगिता यूएस नेपाल क्लाइम्बर एसोसिएसन र नेपाल नेशनल माउण्टेन गाइड एसोसिएसनको संयुक्त आयोजनामा हुन् लागेको हो।
यूएस नेपाल क्लाइम्बर एसोसिएसनका संस्थापक अध्यक्ष एवं प्रतिनिधि सेराप जाङ्बु शेर्पाका अनुसार उक्त प्रतियोगिता आगामी जनवरी २९ र ३० तारिख (माघ १६ र १७ गते) का दिन हुनेछ।
क्वली राउन्डको लागि उपयुक्त ठाउँ छिटै सार्वजनिक गर्ने र सेमिफाइनल र फाइनल बौद्धस्थित क्रिम्पान्जी एडभेन्चर हबमा गरिने शेर्पाले बताए । उक्त प्रतियोगिता दुई चरणमा हुनेछ।
प्रतियोगिताको संयोजक समेत रहेका संस्थापक अध्यक्ष शेर्पाले पर्वतारोहण खेलको प्रवर्धन गर्ने उद्देश्यसहित तेन्जिङ नोर्गे शेर्पाको नाममा उक्त प्रतियोगिता गर्न लागेको बताए। उनले यस प्रतियोगिताले आरोहण क्षेत्रमा रुचि राखेलाई अझ प्रोत्साहन गर्ने विश्वास व्यक्त गरे।
उनले भने, ‘हामीले अमेरिकामा पनि टप रोप अडिसन आयोजना गर्दै आएकाले नेपालमा पनि टप रोप अडिसन पहिलो पटक आयोजना गरिसकेकाले यस पटक दोस्रो अडिसनको पनि आफ्नै देश नेपालमा प्रतियोगिता गर्न लागेका छौँ, यसबाट साहसिक पर्यटन प्रवर्द्धन हुने विश्वास लिएका छौँ।’
साथै, गत वर्ष पहिलो पटक गरिएको उक्त प्रतियोगिता आयोजनाले युवाहरुमा राम्रो छाप परेको शेर्पाले सुनाए।
संस्थापक अध्यक्ष शेर्पाका अनुसार दुई दिनसम्म चल्ने प्रतियोगितामा पहिलो दिन क्वली राउन्ड र दोस्रो दिन सेमिफाइनल र फाइनल गरिने छ।
उनले भने, ‘प्रतियोगितामा भाग लिन ५ सय लाग्ने छ। सो प्रतियोगितामा १२ वर्षभन्दा माथिकाले सहभागिता जनाउन सक्ने छन्।’
कार्यक्रमले प्रतिस्पर्धा मात्र होइन, आरोहण संस्कृति, सौहाद्रता र तेन्जिङ नोर्गे शेर्पाको अटल भावनाको उत्सवको पनि प्रतिज्ञा गरिएको कार्यक्रमका सह संयोजक तथा नेपाल नेशनल माउन्टेन गाइड एसोसिएसनका महासचिव पिम्बा तेन्जिङ लामाले बताए।
उनले भने, ‘यो प्रतियोगिता मात्र होइन प्रतिष्ठित तेन्जिङ नोर्गे शेर्पाप्रति श्रद्धासुमन एवं श्रद्धाञ्जली पनि हो।’
आयोजकका अनुसार प्रतियोगितामा पुरुष र महिलाबीच छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ। पहिलो, दोस्रो र तेस्रो हुनेलाई नगद पुरस्कार प्रदान गरिने छ। यस पटकको प्रतियोगितामा पुरुषतर्फबाट ५० देखि ४५ र महिलातर्फबाट २० देखि २५ जनाले सहभागिता जनाउने छन्। त्यसैगरी पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने महिला/पुरुषलाई क्रमशः ४५ हजार, ३५ हजार र १५ हजार नगद पुरस्कार प्रदान गरिनेछ।
नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनले प्राविधिक जिम्मेवारी समाल्ने छ। यूएसएनसीए (यु.एस. नेपाल क्लाइम्बरस एसोसिएसन) र एनएनएमजीए (नेपाल नेशनल माउन्टेन गाइड एसोसिएसन) बीच प्रत्येक वर्ष पालैपालो कोडिनेटर हुने गरी कार्यक्रम सञ्चालन गर्ने सहमति (एमओयू) भएको आयोजकले जनाएको छ।