नेपाल प्रिमियर लिग (एनपीएल) मा सबैभन्दा धेरै विकेट लिने नेपाली बलर बनेका ललित राजवंशीलाई गृह नगरी विराटनगरमा भव्य स्वागत गरिएको छ।
खेलकुदसँग सम्बन्धित विभिन्न सङ्घसंस्था र खेलकुद क्षेत्रमा लागेका व्यक्तिहरूले राजवंशीलाई मङ्गलवार विराटनगर विमानस्थलमा पुगेर भव्य रुपमा स्वागत गरेको हो।
विमानस्थलमा स्वागत गर्न कोशी प्रदेशका पूर्व स्वास्थ्यमन्त्री जयराम यादवदेखि मिल्स क्रिकेट क्लब एण्ड एकेडेमीका पदाधिकारी तथा नेपाल खेलकुद महासङ्घका सचिवालय सदस्य शान्ता जोशी समेत पुगेकी थिइन्। त्यसैगरी, राजवंशीलाई स्वागत गर्न मिल्स क्रिकेट क्लब एण्ड एकेडेमीका अध्यक्ष मुरली चौधरी, उपाध्यक्ष विशाल बानियालगायत पनि पुगेका थिए। विराटनगर १४ जतुवा घर भएका राजवंशीलाई बुधवार दिउँसो महानगरपालिका भित्र बृहत् बाजागाजासहित जतुवाबाट निकालिएको र्याली विराटनगरको नगर परिक्रमा गरिएको छ। ललित राजवंशी उनका समर्थक, आफन्त तथा ईष्टमित्रहरुले विराटनगर नगर परिक्रमा गरेका हुन्।
हालै सम्पन्न भएको प्रतियोगितामा जनकपुर बोल्टसबाट खेलेका ललितले कुल १० खेलमा कुल ४० ओभर बलिङ गरे। अर्थात् उनले आफ्नो पूरै ओभर बलिङ गर्दै १७ विकेट हात पारेका थिए। त्यस क्रममा ५ ओभर मेडन राखेका उनले २१३ रन खर्चिएका थिए।