लेटाङका किसान कफीखेतीबाट प्रशस्त आम्दानी हुन थालेपछि परम्परागत खेतीलाई छाडेर व्यावसायिक कफीखेतीतर्फ लागेका छन्। लेटाङ नगरपालिका–७, समला लाम्टेका राजविक्रम राई विद्यालयमा अध्यापन सकेपछिको बाँकी समय कफी उत्पादनमा लागि पर्छन्।
शिक्षक राईले अराविका जातको कफीका वार्षिक ४० हजार बिरूवा आफैँ तयार गर्ने गरेका छन्। नर्सरीबाट उत्पादित बिरूवा बिक्री गर्नुका साथै ६० रोपनी जमिनमा उनले खेती गरेका छन्।
“चार वर्षअघि रोपिएका बिरूवाले उत्पादन दिन थालेका छन् यसपटक १० क्विन्टलभन्दा बढी उत्पादन भयो,” राईले भने। कफीको ‘फ्रेस चेरी’ प्रतिकिलो ९० का दरले बिक्री हुने गरेको छ। फ्रेस चेरीलाई ‘पल्पिङ’ गरी ‘पार्चमेन्ट’ बनाई तयार गर्दा प्रतिकिलो ४५० देखि ५६० सम्ममा बिक्री हुने गरेको छ।
“खाली जमिनमा व्यावसायिक ढङ्गले कफी उत्पादन गर्न सक्ने हो भने आकर्षक आम्दानी स्वदेशमा नै गर्न सकिन्छ,” राज एग्रीकल्चर फार्म नै सञ्चालन गरेका राईले भने, “वैदेशिक रोजगारीमा गर्ने लगानी यस क्षेत्रमा लगानी गर्ने हो भने मनग्गे आम्दानी गर्न सकिन्छ।” राई जस्तै सोही वडाका एक सय २० परिवारले कफीको व्यावसायिक खेती गरेका छन्।