तेह्रथुमको लालीगुराँस नगरपालिका–३ बसन्तपुरमा निर्मित चोत्लुङ ‘पार्क’ पर्यटनसँगै याक्थुङ (लिम्बू.) संस्कृति अध्ययनको केन्द्रका रूपमा विकसित भएको छ।
प्रकृति, संस्कृति र इतिहासको सम्मिश्रण चोत्लुङ पार्कमा परम्परागत वास्तु शैलीमा निर्मित घरहरू, ढु्ङ्गा बिछ्याएर बनाइएका फलैँचा र बिसौनीले लिम्बू संस्कृति मात्र झल्काउँदैन पार्क पुग्ने पर्यटकको मन पनि लोभ्याउँछ।
गुराँसे जङ्गलको बीचमा रहेको पार्कमा फुन्जिङ्बा (पैंयू), सिङ्चाङ्गो याम्चाङ्गो (धसिङ्गरे), ते लासे (केरा), लि सिङ्फा (मलिबाँस) जस्ता मुन्धुममा वर्णित वनस्पति रोपिएका छन्। मुन्धुममा वर्णन गरिएजस्तो अग्लाअग्ला ढुङ्गा गाडिएका छन् र तीनको फेदमा दुबो रोपिएको छ।
चोत्लुङ पार्कभित्र युमा सङ्ग्रहालय छ। सङ्ग्रहालय गोरखाका राजा पृथ्वीनारायण शाह र लिम्बूवानबीच विभिन्न समयमा भएका सन्धि, सम्झौता, रुक्कालगायत ऐतिहासिक कागजात र दस्तावेज सङ्ग्रहित छन्। लिम्बूहरूसँग सम्बन्धित पुराना गरगहना, वेशभूषा, हातहतियार, परम्परागत घरेलु उपकरण, वास्तुकला, सिक्कालगायत महत्त्वपूर्ण सामग्री पनि सङ्ग्रहालयमा सुरक्षित छन्।
वि.सं. २०७४ देख निर्माण सुरु भएको चोत्लुङ पार्क एक सय रोपनीभन्दा बढी क्षेत्रमा फैलिएको छ। चोत्लुङ पार्क निर्माणमा प्रदेश सरकार, लालीगुराँस नगरपालिका, नयाँ सहर आयोजनाको कार्यालय वसन्तपुर र अन्य निकायको गरी हालसम्ममा रु दुई करोड बढी खर्च भएको छ।
आन्तरिक मात्र नभएर बाह्य पर्यटकको चासोको केन्द्रका रूपमा पार्क स्थापित भइरहेको छ। देशभित्र मात्र नभएर सिक्किम, दार्जिलिङ, बेलायत, अफ्रिका, चीनलगायत देशबाट अवलोकनका लागि आउने गरेका छन्। पर्यटकलाई पार्क अवलोकनका लागि रु ५० र सङ्ग्रहालय अवलोकनका लागि रु १०० शुल्क लिने गरिएको छ। पार्क घुम्न आउने पर्यटकबाट मात्र गत वर्ष रु १४ लाख राजस्व सङ्कलन भएको छ।

चोत्लुङ पार्क गुराँसको राजधानी तिनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रको प्रवेशद्वारमा अवस्थित छ। टिएमजे भ्रमण गर्नेहरू चोत्लुङ पार्कको दर्शन गरेर मात्र फर्कने गरेका छन्। मध्यपहाडी लोकमार्गको वसन्तपुर बजार नजिक रहेको यो पार्क प्रचारप्रसारको अभावमा ओझेल परेको छ।