गृहमन्त्री रमेश लेखकले सरकारले संविधान संशोधनको नाममा समावेशितालाई कमजोर गर्ने नभई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएका छन्।
मङ्गलवार नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घको नवौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले सबै दलहरूसँग सहमति जुटाएर संविधान संशोधनको प्रक्रिया सुरु गर्ने बताए।
उनले भने, ‘संविधान संशोधन छलफल प्रारम्भ गरेका छौँ। संविधानको समीक्षा गर्छौँ। विषयहरूको पहिचान गर्छौँ। चरणबद्ध रूपमा सबै राजनीतिक दलहरूसँग वार्ता र संवाद गर्छौँ र त्यसपछि विषयवस्तुमा सहमति गरेर संशोधन हुन्छ। यसमा समय लाग्छ। तर त्यो प्रक्रिया अगाडि बढ्छ। संविधान संशोधन गर्ने भनेको समावेशितालाई कमजोर गर्ने होइन थप सुदृढ बनाउने हो। म यो प्रतिबद्धता जनाउँछु।’
उनले सरकार सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्य निर्माणमा प्रतिबद्ध रहेको पनि उनले बताए।
उनले भने,‘सङ्घीय लोकतन्त्रात्मक शासन प्रणाली व्यवस्थामा छौँ। संविधानको मूल मर्म भएको हुनाले के आग्रह गर्न चाहन्छु भने नेपाल सरकार सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्य निर्माणमा प्रतिबद्ध छ। हामी हमेसा प्रतिबद्ध रहने छौँ।’