त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले ५० औँ  दिक्षान्त समारोहको तयारी गरिरहेको छ। यही पुस १३ गते हुने दिक्षान्त समारोहका लागि आवेदन दिएका विद्यार्थीहरू आवश्यक पर्ने गाउन, स्कार्फ र टोपीको जोहो गर्न व्यस्त छन्।
सेमेस्टर तथा वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक, स्नातकोत्तर तह तथा एमफिल तह उत्तीर्ण गरी ट्रान्स्कृप्ट लिएका विद्यार्थीहरूले आवेदन फाराम भरेका आधारमा पोशाकको जोहो गरिरहेका छन्। यसै सिलसिलामा सँगै दिक्षित हुने तयारीमा रहेका आमा र छोराले खुसी साटेका छन्।
उमेरले ५० नाघेकी लक्ष्मी पौडेल क्षेत्री (सिलवाल) र छोरा अभिनव सिलवाल एकसाथ दिक्षित हुने तयारी गरिरहेको सुनाए। ‘म अहिले ५० नाघिसके। ललितपुरको नमुना मछिन्द्र कलेजबाट प्लसटू र स्नातक पनि त्यहीबाट पास गरेको हुँ। पढाइ छाडेको २० वर्ष भयो। घर परिवार र जिम्मेवारीले गर्दा पढ्न पाएको थिएन। तर अचानक पढाई पूरा गर्ने सोच अनुसार हाललाई त्यो पूरा गरेको छु। र दिक्षान्तको तयारीमा छु,’ उनले भनिन्, ‘मैँले मेरा बच्चाहरूसँगै बसेर पढेँ। परिवारको साथ र सहयोगले पढाइ पुरा गरेर दिक्षित हुने रहर लागेको हो।’
‘म अहिले औधी खुसी छु। पढाइको यात्रा अहिलेलाई पूरा गरेको छु। मलाई मेरो परिवारबाट पनि धेरै साथ थियो त्यही भएर पनि म आज यहाँ छु। गाउन लगाएर छोरासँगै दिक्षित हुने रहर पूरा गर्दैछु,’ उनले भनिन्।
छोरा अभिनव सिलवालले आफ्नी आमासँगै पढाई पूरा गरेर दिक्षित हुने तयारी गर्न पाउँदा खुसी लागेको सुनाए। ‘यो मेरा लागि खुसीको पल हो। आमालाई अझै पढ्नु पर्छ भन्न चाहन्छु,’ उनले भने।