उद्यमीहरूमाझ चर्चित टेलिभिजन कार्यक्रम ‘सार्क ट्याङ्क’ को नेपाली संस्करण हिमालय टिभीमा आउने भएको छ।
सोमबार हिमालय टिभीले विशेष कार्यक्रमको आयोजना गर्दै ‘शार्क ट्याङ्क नेपाल’को औपचारिक घोषणा गरेको हो।
सो अवसरमा पाँच जना शार्क (निर्णायक) घोषणा भएका छन्। बेलायती टिभी कार्यक्रम ‘शार्क ट्याङ्क’बाट इजाजत लिएर हिमालय टिभीले नेपाल संस्करण ल्याउन लागेको हो।
सो लाई ‘हिमालय रोडिज’ फेम्ड सिमोस सुनुवारले निर्देशन गर्नेछन्। एउटा एपिसोडमा पाँच जना उद्यमी गरेर कुल २० एपिसोडमा एक सय जना उद्यमीले आफ्नो व्यवसाय र उद्यमशीलताको आइडिया पिच गर्नेछन्।
सो मार्फत ३५ देखि ४० करोड रुपैयाँ लगानी उद्यमीलाई जुटाइने छ। हिमालय टिभीमा आगामी तीन महिनाभित्र प्रसारणको अपेक्षा राखिएको कार्यक्रमको छायाङ्कन फागुनदेखि गर्ने तयारी छ।
कार्यक्रमको छायाङ्कन नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा हुनेछ। शीघ्र प्रसारण हुन्छ भन्दै २०२२ मै यस कार्यक्रमको घोषणा गरिएको थियो। तर, घोषणा गरेको दुई वर्षसम्म कार्यक्रम प्रसारणमा आउन सकेको थिएन।
नवीनता, उद्यमशीलता र लगानीलाई प्रवर्द्धन गर्ने उद्देश्यले चर्चित यो प्लेटफर्म भारत, पाकिस्तान, बङ्गलादेशमा समेत लोकप्रिय छ।