नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलका क्रममा अभद्र व्यवहार गर्ने दुईजनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा डोटी आदर्श गाउपालिकाका २१ वर्षीय अशोक साउद र डोटी दीपायल सिलगढी नगरपालिकाका १९ वर्षीय गणेश साउद रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए। 

नेपाल क्रिकेट संघको आयोजनामा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा यही पुस ६ गते भएको जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीचको खेलपछि केही व्यक्तिहरुबीच झगडा भएको थियो। सोहीक्रममा केही व्यक्तिले अपमानजनक शब्द प्रयोग गर्ने, विभिन्न व्यक्तिलाई अभद्र व्यवहार गरेको सम्बन्धमा विभिन्न निकाय तथा सञ्चारमाध्यममार्फत र पीडितका जाहेरीका आधारमा अनुसन्धान गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न अन्य व्यक्तिको खोजी जारी रहेको  प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए।