लामो समयदेखि लथालिङ्ग रहेको र पटक-पटक आलोचना खेपेको इटहरी उपमहानगरको तालतलैया सडक खण्डमा अहिले धमाधम काम भइरहेको छ।
वर्ल्ड बैंकको लगानीमा निर्माण भइरहेको उक्त सडकले यहाँका तीन वटा वडा छुन्छ। इटहरी २, ३ र ४ नं. वडा छुने उक्त सडक इटहरीको पूर्व लाइनमा रहेको ताल तलैया गेट नजिकै भेटघाट चौक हुँदै, तालतलैयासम्म निर्माण भइरहेको हो। यो सडक साइकल लेनसहितको अत्याधुनिक हुने मेयर हेमकर्ण पौडेलको भनाई छ।
वर्ल्ड बैंकको ७३ करोड ८० लाख १२ हजार चार सय ७६ रुपैयाँ ५७ पैसा लगानीमा सडक निर्माण भइरहेको हो। खास गरी उक्त सडक तालतलैया हुँदै इटहरी २ बरगाछीसम्म जोडिनेछ इटहरीका मेयर हेमकर्ण पौडेलले भने।
‘नेपाल सरकारले तयार गरेको घुम्नुपर्ने एक सय ठाउँको सूचीमा परेको तालतलैया जाने सडक बन्नु आफैँमा खुसीको कुरा हो। इटहरीको रिङ्गरोडमा पर्ने भएकाले पनि यो बाटो महत्त्वपूर्ण छ,’ मेयर पौडेलले भने, ‘कोशी प्रदेशका दुई उपमहानगरपालिका जोड्ने भएकाले यो अन्तरपालिकास्तरीय बाटो हो।
इटहरीको वडा नं. ३ र धरानको वडा नं ६ लाई यो सडकले जोड्ने उनको भनाइ छ।
यो बाटो आगामी दिनमा धरान काँकडभिट्टा जोड्ने वैकल्पिक बाटोसमेत बन्नसक्ने उनको दाबी छ। इटहरीको मुख्य राजमार्गपछिको सुन्दर बाटोको रूपमा चिनिने बाटो तीव्र गतिमा बनिरहेको र चाडै बनिसक्ने उनको विश्वास छ।

इटहरी उपमहानगरपालिकाका इन्जिनियर जीवन घिमिरेका अनुसार इटहरी २ मा ३२ फिट, इटहरी ३ मा ६० फिट र इटहरी ४ मा ५० फिट चौडाइको सडक बन्ने क्रममा रहेको हो। जम्मा साढे ८ किलोमिटर सडक बन्ने उनले बताए।