वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलले २०८२ साल वैशाख २६ गते बद्रीनारायण मन्दिरको प्राण प्रतिष्ठान गर्न लागेको जानकारी दिएका छन्।
शनिवार काठमाडौँमा आयोजित नमुना बद्रीनारायण मन्दिर ‘प्राण प्रतिष्ठान एवं अनुष्ठान’ को घोषणा सभामा उनले नेपाल सरकार पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइत अनुसार २०८२ साल वैशाख २६ गते ९:०२ बजेको प्राण प्रतिष्ठान गर्न लागेको बताए। 
उनले भने, ‘२०८२ साल वैशाख २६ गते ९ः०२ बजेको शुभ साइतमा नेपाल सरकार पञ्चाङ्ग समितिले दिएको साइत अनुसार बद्रीनारायण मन्दिरको प्राण प्रतिष्ठान गर्दैछौ।’
यसका साथै, उनले नेपाल पुण्यमय, तीर्थमय, आध्यात्मिक र गरिमामय भूमि भएको भन्दै एक दिन नेपालले विश्वलाई नेतृत्व गर्छ भन्ने सङ्कल्पका साथ अगाडि बढेको बताए। 
उनले भने, ‘ध्यान नेपालको हो। ध्यान सबैभन्दा पहिला भगवान् पशुपतिनाथले गर्नुभएको हो। त्यसैले यो भूमि पुण्यमय, तीर्थमय, आध्यात्मिक र गरिमामय हो। यो भूमिलाई विश्व जगतमा उठाउनको लागिसंकल्प एक दिन नेपालले विश्वलाई नेतृत्व गर्छ भन्ने नै हो। त्यसका लागि हामीसँग वेद र बुद्ध छ। वेदको आध्यात्मिक र बुद्धको ध्यानको बिरासत छ।’ 
आध्यात्मिकताको नवीनतम प्रयोग, सनातनी प्रयोग, सेवा र साधनाको माध्यमबाट समाजको बृहत् समृद्धि गर्ने सङ्कल्पका साथ लागिरहेको पनि उनको भनाई छ।