उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले अहिलेको अवस्थामा सुधार ल्याउन सरकारले प्रयास गरिरहेको बताएका छन्।
नेपाली काँग्रेस थाहा नगर कार्यसमितिले शनिवार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उपप्रधानमन्त्री सिंहले राजनीतिक स्थिरताको जगमा विकास निर्माण र आर्थिक समृद्धिमार्फत जनताको अवस्था सुधार्न सरकारले काम गरिरहेको बताए। 
पछिल्लो निर्वाचनपछि बनेका सत्ता गठबन्धन लामो समय नटिक्दा जनतामा बढेको निराशा चिर्नका लागि अहिलेको सत्ता गठबन्धन बनेको पनि उनले प्रष्ट पारे। राजनीतिक स्थिरता र स्थायित्वका लागि अहिलेको सरकार बनेको र सरकारले नागरिकलाई केन्द्रमा राखेर काम गरिरहेको उनले बताए। 
सडक मार्गमार्फत थाहा नगरपालिका पुग्ने क्रममा उपप्रधानमन्त्री सिंहले लौहपुरूष गणेशमान सिंहले शिलान्यास गर्नुभएको चन्द्रागिरि चित्लाङ सडकको अवलोकन पनि गरे। सडक निर्माण कार्य सुरु भएको लामो समयसम्म पनि सम्पन्न नभएको भन्दै उनले चन्द्रागिरि चित्लाङ सडक निर्माण कार्य छिट्टै सम्पन्न गर्न पहल गर्ने बताए।
उनले निर्माण कार्यमा ढिलाइ गर्न नहुने र विकासका काममा सबै मिल्नुपर्नेमा जोड दिए। ‘यो राजधानीसँग जोड्ने सबभन्दा छोटो मार्ग मात्र नभएर बागमती प्रदेशको राजधानी जोड्ने मार्ग पनि भएको कारणले गर्दा यसको आकर्षण बेग्लै किसिमको हुन्छ भन्ने लागेको छ,’ उपप्रधानमन्त्री सिंहले भने। 
उनले विकासका लागि जनप्रतिनिधिको भूमिका मुख्य रहे पनि सङ्घ, प्रदेश र स्थानीय तहमा जनप्रतिनिधिसँगे सबैको साथ जरुरी हुने पनि बताए। चुनावका क्रममा कुनै दलबाट उम्मेदवार बनेपनि जितेपछि जनप्रतिनिधिले आफ्नो कार्यकालभर जनतालाई केन्द्र विन्दुमा राखेर जनसरोकारका काम गर्नुपर्नेमा जोड दिए।
जनप्रतिनिधिलाई राम्रो काम गराउनका लागि  स्थानीय बासिन्दाको पनि महत्त्वपूर्ण भूमिका रहन्छ। यो भएन, त्यो भएन भन्ने अधिकार पनि नागरिकलाई छ। तर, त्यसो भनेर बसेर मात्र भएन,’ उपप्रधानमन्त्री सिंहले भने, ‘राम्रो काम गराउनका लागि के गर्नुपर्‍यो  भन्ने कुरा आम जनताले पनि आफ्नो जिम्मेवारी बोध गराउन सक्नुपर्छ। सबै मिल्नुपर्छ।’ उनले चन्द्रागिरि चित्लाङ सडक बने सबै नागरिकले सुविधा पाउने भन्दै विकास निर्माणको काम सबैको साझा विषय भएको बताए।
उपप्रधानमन्त्री सिंहले ०४६ साल अगाडि भन्दा  बहुदल आएपछि विकास निर्माणको कामले क्रमिक रूपमा गति लिइरहेको बताए। अहिले केही पनि भएन गलत भाष्य बनाउन खोजिएको भन्दै उनले बहुदलपछि शिक्षा, स्वास्थ्य, सडकलगायतका पूर्वाधारमा उल्लेख्य विकास भएको बताए। तर,नागरिकको चाहना अनुसार अझै काम गर्न बाँकी रहेको र त्यसमा सरकारले प्रयास गरिरहेको सिंहको भनाई थियो। 
त्यस्तै कार्यक्रममा नेपाली काँग्रेस बागमती प्रदेश सभापति समेत रहनुभएका बागमती प्रदेश सांसद इन्द्र बानियाँले मकवानपुरका जनताको अवस्था सुधार्न र मकवानपुरलाई विकासको गतिमा अघि बढाउनका लागि कुनै कसर बाँकी नराख्ने बताए।
सिंहले आज मकवानपुरको मनहरी नगरपालिकाको प्रशासकीय भवन शिलान्यास गर्नेछन्। सिंह चन्द्रागिरि चित्लाङ सडक मार्ग हुँदै मनहरी नगरपालिका गएका हुन्। सिंहसँगै ऊर्जा राज्यमन्त्री कान्छाराम तामाङ र नेपाली काँग्रेस बाग्मती प्रदेश सभापति  बानियाँ पनि कार्यक्रममा सँगै सहभागी छन्।