‘हीरा राजधानी’ मानिने बेल्जियमको बन्दरगाह सहर एन्टवर्पमा हीराको व्यापार सङ्कटमा परेको छ। 
रुस–युक्रेन युद्धका कारण युरोपेली सङ्घले रुसी हीरा आयातमा प्रतिबन्ध लगाएपछि हीराको व्यापारमा ऐतिहासिक रुपमै गिरावट भएको हो। 
सयौँ वर्षदेखि हीराको व्यवसायको हब मानिएको उक्त सहरबाट धेरै व्यापारीहरु पलायन समेत हुन थालेका छन्। उक्त क्षेत्रको एक सय मिटर लामो सडकमा करिब दुई हजार हीरा कम्पनीहरूको घर थिए। तर ती अब बन्द हुने तरखरमा छन्।
रुसी हीरामाथि युरोपेली सङ्घले लगाएको प्रतिबन्धले बेल्जियमको कच्चा हीरा आयातमा तीव्र गिरावट आएको छ। यस वर्षको पहिलो तीन त्रैमासिकमा मात्रै, आयात ३८ प्रतिशतले घटेको छ, जसले हिरासँग सम्बन्धित रोजगारीमा उल्लेखनीय कमी आएको सीसीटीभीप्लसले जनाएको छ।
दोस्रो पुस्ताका हीरा व्यापारी तारेक दायेखले ५० वर्ष पुरानो हीराको व्यापार छाड्नुपर्ने अवस्था आएको बताए। उनले इयूको प्रतिबन्ध, कडा नियमहरू, आर्थिक मन्दी र ऊर्जा सङ्कटलगायतका कारण व्यवसाय छाड्नुपर्ने अवस्था आएको सुनाए। धेरै व्यापारीहरु दुबईतिर पलायन भएका छन्।